१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खुला दौडमा सेनाको वर्चस्व

पाेखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको पहिलो खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष खुला १० किलोमिटर सडक दौडमा विभागीय खेलाडीको वर्चस्व रह्यो।

पोखरा रंगशालाबाट बिहीबार बिहान सुरु भएको दौडमा महिलातर्फ नेपाली सेनाकी धाविका सेमकली जैसीले ५१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्।

त्यसै गरी गोमा पुनमगर (नेपाली सेना) ले ५३ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र नेपाली सेनाकै धाविका मनसरा कुमालले ५५ मिनेट ५१ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।

पुरुषतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका धावक नरेन्द्रसिंह राउतले ३९ मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जित्न सफल भए। त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले ४० मिनेट ०५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुँदा केवल १० सेकेन्डले मात्रै पछि परेको सशस्त्र प्रहरी बलका धावक नीरज भट्टले ४० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।

विद्यालयस्तरीय छात्रातर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्डकी यमुना थापाले २५ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भइन्। राष्ट्रिय माविकी छात्रा संगीता विकले २६ मिनेट २५ सेकेन्डका साथ दोस्रो हुँदा कास्की मोर्डनाइज्डकी दिलमाया पुलामीले २७ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन्।

छात्रतर्फको प्रतिस्पर्धा भने निकै प्रतिस्पर्धात्मक देखियो। जनप्रिय माविका प्रवीन शेर्पाले २६ मिनेटमा ५ किलोमिटर दूरी पूरा गर्दै प्रथम हुँदा छोरेपाटनका मनोज रोकामगरले २६ मिनेट २५ सेकेन्डका साथ दोस्रो र सिद्ध माविका विमल पुन मगरले २६ मिनेट २६ सेकेन्डका साथ तेस्रो स्थानमा चित्त बुझाए।

विजेता छात्रा तथा छात्र एवं खुलातर्फका महिला तथा पुरुष धावकलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार सदस्यसचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बानियाँलगायतले नगदसहित पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रूपैयाँ एवं महिला तथा पुरुष खुला १० किलोमिटर दौड विजेतालाई १५, १० र ७ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २२ आश्विन २०७८ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App