१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एभरेस्ट प्रिमियर लिगः काठमाडौंको प्लेअफ सम्भावना कठिन

पोखराविरुद्ध बलिङ गर्दै सन्दिप लामिछाने। तस्बिरः नागरिक

लगातार तीन खेलमा हार बेहोरेपछि काठमाडौं किङ्स–११ को एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा प्लेअफ सम्भावना कठिन भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार पोखरा राइनोजसँग डकवर्थ लुइस (डिएल) का आधारमा १४ रनले पराजित भएपछि सन्दीप लामिछानेको टोली काठमाडौं किङ्सको प्लेअफ सम्भावना कठिन भएको हो। 

उद्घाटन खेलमा जित निकाल्दै सुखद सुरुआत गरेको काठमाडौंले त्यसपछि तीन खेलमा लगातार हार बेहोर्‍यो। यसअघि चितवन टाइगर्सले शीर्ष स्थान पक्का गर्दै क्वालिफायरमा स्थान बनाउँदा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले पनि प्लेअफमा स्थान बनाइसकेका छन्।  

प्लेअफको एक स्थानका लागि ललितपुर प्याट्रियट्स र काठमाडौंको सम्भावना छ। पाँच खेलबाट तीन अंक बटुलेको ललितपुर प्लेअफका लागि काठमाडौंको नतिजा कुरिरहेको छ। यस्तो समीकरणमा काठमाडौंले सोमबार आफ्नो चौथो खेलको नतिजा विनोद भण्डारीको पोखरा राइनोजलाई सुम्पियो। मंगलबार पाँचौं खेलमा जित या बराबरीले पनि काठमाडौंले प्लेअफको यात्रा तय गर्नेछ।

काठमाडौंले लिगको अन्तिम खेल शरद् भेषावकरको भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ। दोस्रो स्थानको भैरहवाको पनि शीर्ष दुई स्थानमा रहँदै क्वालिफायरमा पुग्ने लक्ष्यमा रहेकाले काठमाडौंले चुनौती पार गर्नुपर्नेछ। १ सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरमा पाँच विकेट गुमाउँदै १ सय ४२ रन बनाउँदा वर्षाले खेल रोकियो। 

त्यति बेला पोखरालाई जितका लागि ३० बलमा ४१ रन आवश्यक थियो। तर, लगातार वर्षा भएपछि डिएलका आधारमा पोखरा जितको हकदार बन्यो। पोखराका विवेक यादवले ४१ रन र लोकेश बमले १८ रनमा ब्याटिङ गर्दा वर्षाले खेल प्रभावित बन्न पुग्यो। विवेकले २८ बलमा चार चौका र दुई छक्का हिर्काउँदै पोखराको इनिङलाई राम्रो स्थितिमा पु¥याएका थिए।  

आठ बल खेलेका लोकेशको इनिङमा तीन चौका रह्यो। छैटौं ओभरमा पोखराले ३६ रन जोड्दा चार विकेट गुमाइसकेका थियो। तर, साहान अराकचिगेले ४३ रनको आक्रामक इनिङ खेले। उनले २३ बलमा चार चौका र तीन छक्का हिर्काए। 

उनको त्यो आक्रामक इनिङ नै पोखराको जितका लागि महत्वपूर्ण बन्यो। जितेन्द्र मुखिया र गुल्सन झाले समान दुई विकेट लिँदा सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। सन्दीपबाहेक अन्य बलर निकै महँगा साबित भए।  

त्यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ८२ रनको विशाल योगफल बनायो। अमित श्रेष्ठ र रायन बर्लले अर्धशतक बनाउँदा कप्तान सन्दीपले आक्रामक इनिङ खेल्दै काठमाडौंको इनिङलाई विशाल योगफलतर्फ डोर्‍याए। 

अमितले ४१ बलमा ६ चौका र दुई छक्कासहित ५६ रन बनाए। रायनले ४३ बलमा ५० रन जोडे। उनको इनिङमा दुई चौका र तीन छक्का रह्यो। तल्लो क्रममा कप्तान सन्दीपले ११ बलमा ३१ रनको आक्रामक इनिङ खेले। उनले दुई चौका र तीन छक्का हिर्काए।  

खराब सुरुआत गरेको काठमाडौंले १६ रन जोड्दा नै ओपनरद्वय सुवास खकुरेल र रहमान उल्लाह गुर्बाजलाई गुमायो। तर, रायन र अमितले तेस्रो विकेटका लागि १ सय ६ रनको शतकीय साझेदारी गर्दै काठमाडौंलाई राम्रो स्थितिमा पुर्‍याए। 

पोखराका तीव्र गतिका बलर विवेक यादवले एक ओभरमै तीन विकेट लिँदा सात रन मात्र खर्चिए। साहान, विक्रम सोब, नन्दन यादव र किशोर महतोको नाममा १/१ विकेट रह्यो। 

अर्को खेलमा भैरहवाले चितवनलाई ६ विकेटले हराउँदै जारी सिजन पहिलो हार चखायो। १ सय ६५ रनको लक्ष्य भैरहवाले १७.५ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्‍यो। भैरहवाको जितमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले। 

उनले ४३ बलमा तीन छक्का र ८ चौका प्रहार गरे। तमिम इकबालले ४० रन जोड्दा रोहित पौडेल ६ र आरिफ शेख १ रनमै आउट भए। तर, उपुल थरंगाले ३९ रनको अविजित इनिङ खेल्दै जित दिलाए। चितवनका करिम जन्नतले दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले १/१ विकेट निकाले।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन जोड्यो। चितवनका जन्नतले ३५ र मोहम्मद साहजादले ३२ रन जोडे। सिकुगे प्रसन्नाले २४, भीमले १६, राजेश पुलामीले १४ र दिलीप नाथले १३ रनको सानो इनिङ खेल्दै चितवनलाई मध्यम स्थितिमा पुर्‍याए। 

तर, त्यो योगफल जितका लागि पर्याप्त भएन। भैरहवाका अविनाश बोहराले तीन विकेट, कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले १÷१ विकेट निकाले। जारी सिजन चितवनले पहिलो पराजय बेहोर्दा भैरहवाले भने तेस्रो जित निकाल्यो। 

प्रकाशित: १९ आश्विन २०७८ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App