१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वर्षिक साधारणसभा नगरी टुंगिदैं चारवर्षे कार्यकाल

कास्की जिल्ला फुटबल संघको बेथिति

निर्वाचन भएर आएको चारवर्ष पुग्न चारमहिना मात्रै बाँकी छ । निर्वाचित भएर आएको कास्की जिल्ला फुटबल संघले चारवर्षको अवधिमा एकपटक पनि वार्षिक साधारण नै नगरी कार्यकाल टुंग्याउने संघारमा छ । आगामी माघमा कार्यकाल सकिन्छ ।  

क्लबलाई अनुगमन गर्ने निकाय नै यस्तो बिजोग अवस्थाबाट गुज्रिएको छ । चारवर्षको अवधिमा ठोस योजना बनेन । हचुवाकै भरमा निर्णय गरियो । निर्णयलाई माईन्युट समेत गरिएन् । त्यही निर्णय फुटबल संघलाई गलपासो बनिदियो । ‘चारवर्ष टुंगिन लाग्दा एकपटक पनि वार्षिक साधारण सभा गरिएन् । कार्यकाल त्यसै सकिनै लाग्यो,’ फुटबल संघकै पदाधिकारी बताउँछन् ।  

कास्की जिल्ला फुटबल संघको २०७४ साल माघमा नयाँ कार्यसमिति आएको हो । मिलन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति आएपछि क्लबस्तरीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, मनकामना केवलकार पोखरा कप आयोजना गरियो । त्यो नै एकमात्र प्रतियोगिता बन्यो । त्यसभन्दा अघि संघले नै तीन संस्करण सफल पोखरा कप सम्पन्न गरेको थियो । सफल पोखरा कपपछि मनकामना केवलकारले प्रायोजन गरेपछि तीन संस्करण आयोजना गरियो ।  

२०७५ सालमा आयोजित मनकामना केवलकार पोखरा कपको आयव्यय सार्वजनिक हुनै सकेन् । आयव्यय नदेखाइएपछि फुटबल संघभित्रै तिब्र विवाद निम्तियो । विवादलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन गर्नुपर्यो । छानविनले आर्थिक पारदर्शिता नदेखिएको पोखरामै पत्रकार सम्मेलन गरेर छानविन समितिले सुनाएर फर्कियो । छानविनको रिपोर्ट भने एन्फाले सार्वजनिक गरेन । आर्थिक पारदर्शिता नभएको प्रष्ट देखिएपनि एन्फाले प्रतिवेदन सार्वजनिक नगरी कास्की जिल्ला फुटबल संघप्रति कारवाहीको छनक देखाएन । एन्फा मुकदर्शक बनेर बसिदियो ।  

आर्थिक पारदर्शितासँगै फर्जी चेकले घटना नै निम्त्यायो । पोखरा–२९ भण्डारढीकमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा फर्जी चेककै कारण बर्तमान गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । फर्जी चेक दिएको भन्दै तत्कालिन समयमा प्रदेश सदस्य रहेको राजीव गुरुङ(दिपक मनाङे)ले हातपात गरेपछि छानविन शुरु भएको थियो । छानविनै क्रममा दोषी देखिएपछि अध्यक्ष मिलन गुरुङलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही गरेको थियो । आर्थिक पारदर्शिताकै सवालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले समेत छानविन गरेको थियो ।  

विद्यालयस्तरीय, अन्तर्राष्ट्रियस्तर र क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता तथा एकेडेमी सञ्चालनको आयव्ययको विवरण सार्वजनिक नहुदाँ कास्की जिल्ला फुटबल संघप्रतिको विश्वास गुमेको छ । ‘एकपटक मात्रै अडिट गरेर पठाइएको छ । एन्फाले छानविन गर्ने बेलामा अडिट गरिएको हो, त्यसपछि छैन्,’ स्रोतले भन्यो । कास्की जिल्ला फुटबल संघभित्र अहिले तिक्तता छ । कोषाध्यक्ष विजया गुरुङले एन्फाको छानविनकै दौरानमा राजीनामा दिईसकेकी छन् । संघ कोषाध्यक्ष विहीन छ ।  

हरेक काम कर्तव्य अहिले अध्यक्ष गुरुङको काँधमा छ । अन्य पदाधिकारी भने उनीसँग सम्पर्कविहीन छन् । पदाधिकारी र अध्यक्ष बीचको फाटोले पनि वार्षिक साधारण सभा हुनै नसकेको ठम्याई छ । ‘अध्यक्षको मनोमानी निर्णय हुन्छ । निर्णयकै कारण भाँडभैलो हुदैं आएको छ,’ स्रोतको भनाई छ । संघका अध्यक्ष मिलन गुरुङले पनि बार्षिक साधारण सभा बस्न नसकेको स्वीकार्छन् । ‘अब चुनाव अघि नै वार्षिक साधारण सभा टुग्याउँछौं,’ अध्यक्ष गुरुङले भने, ‘कोभिडकै कारणले पनि केही गर्न सकिएन् ।’  

प्रकाशित: १६ आश्विन २०७८ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App