२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला क्रिकेट टोलीको प्रशिक्षण, खेलाडी छनोटको तयारीमा क्यान

आइसिसी महिला  ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको एक हप्ते प्रशिक्षण सकिएको छ। सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा क्षेत्रीय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिसरमा रहेको मैदानमा प्रशिक्षण भएको हो। असोज ७ गतेदेखि सुरु भएको प्रशिक्षण बुधबार सकिएको हो।

छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो। पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाडाँै र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण पूरा गरेको थियो।

अब तीनै ठाउँको प्रशिक्षणलाई आधार मानेर मलेसियामा हुने खेलका लागि अन्तिम १४ सदस्यीय खेलाडी छनोट गरिने महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले बताए। यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरी सकेको थियो।

अघिल्लो वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारिम्भक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो। मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुनेछ। जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङ्कङ् खेल्नेछन्। एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा  स्थान बनाउनेछन्।

प्रकाशित: १३ आश्विन २०७८ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App