coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

केन लय भेट्टाउन संघर्षरत

टोटेनह्याममा थप एक सिजन आफ्नो उत्कृष्ट प्रदर्शन गर्न ह्यारी केन प्रतिबद्ध छन्। तर यस सिजन इङ्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले इच्छा देखाउँदादेखाउँदै पनि टोटेनह्याम अनिच्छुक बन्दा त्यहीं बस्न बाध्य भएका केनले जारी सिजन स्वाभाविक गति भेट्टाउन सकेका छैनन्।

प्रिमियर लिगमा यस सिजन केनको प्रहारले जाली चुम्न सकिरहेको छैन। लन्डन डर्बीमा आइतबार आर्सनलसँग भएको खेलमा टोटेनह्याम ३–१ ले पराजित भएको थियो। लगातार ६ खेलमा गोल खाता खोल्न नसकेका केनमाथि दबाब थपिएको छ।

६ खेलमा ९ अंक जोडेको टोटेनह्याम ११औं स्थानमा छ। टोटेनह्यामले केनको अनिच्छाका बावजुद उनलाई क्लबमै राखिराख्ने निर्णय अहिले क्लब स्वयम्लाई पासो बनेको छ। 

लिगको सुरुआती तीन खेलमा शतप्रतिशत नतिजा निकालेको नुनो स्प्रिन्टो सान्टोको टोलीको त्यो लय अहिले हराएजस्तै छ। उनको टोलीले पछिल्लो तीन खेलमा लगातार हार बेहोरेको छ। पछिल्लो तीन खेलमा अंकविहीन टोटेनह्यामले यस क्रममा ९ गोल खाएको छ भने विपक्षीको पोस्टमा मात्र १ गोल गरेको छ।

‘हामीले पहिलो हाफमा नियन्त्रण गुमायौं। हामी निरीह देखियौं,’ टोटेनह्यामका कप्तान ह्युगो लोरिसले भने, ‘जब तपाईको  टोलीले लगातार तीन खेल गुमाउँछ र तीनवटै खेलमा ३ गोल खान्छ भने सहजै अनुमान लगाउन सकिन्छ टोलीमा ठूलै समस्या छ।’

टोटेनह्यामले यसै साता युरोपा कन्फरेन्स लिगमा स्लोभानियाली एनएस मुराको सामना गर्दै छ।

केनले सन् २०१८ मा टोटेनह्यामसँग ६ वर्षको सम्झौता गरेका थिए। उनकै कप्तानीमा दुई सिजनअघि टोटेनह्यामले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेको थियो।

जोजे माउरिन्होे बर्खास्त भएपछि नुनोले टोटेनह्यामको प्रशिक्षण सम्हालेका थिए। पूर्वप्रशिक्षक माउरिसिनो पोचेटिनो र एन्टोनियो कोन्टेलाई ल्याउने प्रयास असफल भएपछि नुनो करिब तीन महिनाअघि टोटेनह्याम आएका थिए। ‘टोलीले बिर्सनलायक प्रदर्शन  गर्‍यो।

रणनीतिअनुसारको खेल भएन। मैले लिएका केही निर्णय पनि फलदायी बनेन,’ नुनोले भने, ‘म हारको जिम्मेवारी लिन्छु। म कसैलाई पनि हारको दोष दिन चाहन्नँ।’

टोटेनह्याम सन् २०१६ देखि २०१९ सम्म प्रिमियर लिगको शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट भएको थियो। नुनोको मुख्य चुनौती भनेको टोलीलाई प्रिमियर लिगको शीर्ष ४ मा राख्दै च्याम्पियन्स लिगमा फर्काउनु हुनेछ। यता लगातार तेस्रो जितपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले भने टोटेनह्यमविरुद्धको नतिजालाई ‘विशेष जित’ को संज्ञा दिए। 

तीन साताअघिसम्म टोटेनह्याम लिगको शीर्ष स्थानमा बसेको थियो। यता प्रिमियर लिगमा ६७ वर्षयताकै खराब प्रदर्शन गरेको आर्सनल लिगको पुछारमा थियो। तर अहिले अवस्था फेरिएको छ। पछिल्लो तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको आर्सनल अंक तालिकाको १० औं स्थानमा छ। आर्सनलका प्रमुख खेलाडीहरू चोटमुक्त हुँदै टोलीमा फर्किसकेका छन्।

आर्सनलका लागि पहिलो हाफको ३५ मिनेटभित्र इमिल स्मिथ रोवी, पियरे इमेरिक औबामेयाङ र बुकायो साकाले गरेको गोल जितका लाग पर्याप्त बन्यो। खेल सकिन ११ मिनेट बाँकी रहँदा सन ह्युङ मिनले गोल गरे पनि त्यो नुनोको टोलीलाई खेलमा फर्काउन पर्याप्त बनेन। ‘यो विशेष दिन हो। 

आज हामीले आफूहरूलाई प्रमाणित गरेका  छौं र यो लयको निरन्तरता आवश्यक छ,’ अर्टेटाले भने, ‘यो जित म समर्थकप्रति समर्पण गर्न चाहन्छु। हामी खराब लयबाट गुज्रँदा पनि उनीहरूले न्यायो साथ दिएका थिए।’

प्रकाशित: १२ आश्विन २०७८ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App