१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इपिएलका दुवै खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।

खेल बिहान ९ः३० बजेका लागि तय थियो। तर अघिल्लो दिन परेको वर्षाका कारण निर्धारित समयमा टससमेत हुन सकेन। पटकपटकको निरीक्षणमा पनि मैदान खेल्न लायक नभएपछि अन्ततः काठमाडौँका कप्तान सन्दीप लामिछाने र विराटनगरका कप्तान करण केसी खेल स्थगित गर्न सहमत भएका थिए।

उद्घाटन खेलमा ललितपुर पेट्रियट्समाथि सात विकेटको जितका साथ इपिएलमा सुखद सुरुआत गरेको काठमाडौं लगातार दोस्रो जितको खोजीमा थियो। यता पहिलो खेलमा चितवन टाइगर्ससँग दुई विकेटले पराजित भएको विराटनगर पनि पहिलै जितको खोजीमा थियो। त्यस्तै भैरहवा ग्ल्याडियटर्सको जितको लक्ष्यमा लगातार दोस्रो दिन पनि वर्षा बाधक बन्यो। 

सोमबार दोस्रो खेल पनि वर्षाले प्रभावित भएपछि भेैरहवाको लक्ष्यले दोस्रो दिन पनि पूर्णता पाएन। लगातार वर्षाका कारण भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीच तय खेल रद्द भयो। भैरहवाले वर्षा बाधक बन्दा आइतबार पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेको थियो। 

चितवनले आइतबार पहिलो खेलमा विराटनगरलाई दुई विकेटले हराएको थियो। प्रतियोगिताअन्तर्गत मंगलबार काठमाडौं र पोखरा आमनेसामने हुँदै छन्।

प्रकाशित: १२ आश्विन २०७८ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App