८ वैशाख २०८१ शनिबार
खेल

गोकर्णको अग्रता

 गोकर्ण गल्फ क्लबले नेपाल टुरिजम कप गल्फ प्रतियोगिताको पहिलो दिन सोमबार अग्रता बनाएको छ।गोकर्ण गल्फ कोर्समा सोमबार भएको पहिलो दिनको खेलमा घरेलु क्लबले त्रिभुवन आर्मी अफिसर गल्फ क्लबमाथि दुई स्ट्रोकको अग्रता बनाएको हो। 

टासी छिरिङ र सद्भाव आचार्य सम्मिलित गोकर्ण गल्फ क्लबले सात ओभर १ सय ५१ स्कोर गर्‍यो। टासीले दुई ओभर ७४ र सद्भावले पाँच ओभर ७७ को व्यक्तिगत स्कोर कार्डमा खेलेका थिए। 

१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण विजेता सुवास तामाङ र मेजर निश्चयजंग रायमाझी सम्मिलित आर्मीले ९ ओभर १५३ को कार्ड जोड्यो। सुवासले एक ओभर ७३ मा खेल्दा निश्चियजंगले आठ ओभर ८० को सामना गरे।

कुल २४ ओभर १६८ स्कोरका साथ रोयल नेपाल गल्फ क्लब तेस्रो स्थानमा रह्यो। रोयल नेपालका मिथुन राईले १० ओभर ८२ र सुरज श्रेष्ठले १४ ओभर ७६ को व्यक्तिगत कार्ड बनाएका थिए। अजित विक र प्रज्वल गुरुङ सम्मिलित हिमालयन गल्फ कोर्स २६ स्कोर १ सय ७० को कार्डसहित चौथो स्थानमा छ। 

अजितले सात ओभर ७९ स्कोरमा खेल्दा उनका सहकर्मी प्रज्वलले १९ ओभर ९१ स्कोरको कार्ड सामना गरे। धरान गल्फ क्लब ३२ ओभरमा खेलेपछि पुछारमा छ। धरानका युवराज भुजेलले १२ ओभर ८४ र हितराज लिम्बुले २० ओभरमा खेले। क्लब च्याम्पियनसिपमा अन्तिम दिन बाँकी १८ होलको खेल हुनेछ।

नेपाल गल्फ संघको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा बुधबार कर्पोरेट गल्फ हुनेछ। कुल ९० गल्फरको सहभागिता रहने कर्पोरेट गल्फ भने १८ होलमा सञ्चालन हुँदै छ। उक्त प्रतियोगिता विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, गोकर्ण फरेस्ट रिसोर्ट, सामसुङ, केल्मी र काल्सबर्गको सहयोगमा सञ्चालन भएको हो। 

प्रकाशित: १२ आश्विन २०७८ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App