coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अमेरिकाले नेपालसँग बदला लियो

ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेको नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा अमेरिकासँग ६ विकेटको लज्जास्पद हार बेहोरेको छ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा १ सय ७५ रनको झीनो लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेपछि नेपालले त्रिदेशीय शृंखलामा दोस्रो हार बेहोरेको हो। यसै शृंखलाको पहिलो खेलमा भने नेपालले अमेरिकामाथि जित निकालेको थियो। तर, दोस्रो खेलमा भने स्टेभन टेलरको ९२ रनको आक्रामक इनिङ प्रेरणामा अमेरिकाले नेपालसँग बदला लियो। 

नेपाली बलरमाथि पूर्ण हाबी टेलरले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गर्दै आफ्नो टोलीलाई जितनजिक पुर्‍याएका थिए। करण केसीले १९.३ ओभरमा टेलरलाई सोमपाल कामीबाट क्याच आउट गराउँदा अमेरिका ११९/३ को बलियो  स्थितिमा थियो।  

लगत्तै चौथो बलमा करणले सञ्जय कृष्णमूर्तिलाई शून्यमा आउट गर्दै झीनो आशा जगाए। तर, मोनान्क पटेलले ३८ रन र जस्करन मल्होत्राले ३४ रनको अविजित इनिङ खेलेपछि अमेरिकाले २०.३ ओभर बाँकी छँदा नै जित प्राप्त गर्‍यो। मोनान्कले ७० बलमा एक मात्र चौका प्रहार गर्दा मल्होत्राले भने ३२ बलमा तीन चौका र दुई छक्का हिर्काए। 

नेपालका बलर अमेरिकी ओपनर टेलरसामु सुरुआतदेखि नै दबाब परेका थिए। तर, सन्दीप लामिछानेले अर्को छेउबाट दबाब बनाउँदै अर्का ओपनर सुशान्त मोदानीलाई २ रन र करिमा गोरलाई शून्यमा आउट गर्दै नेपाललाई ४.५ ओभरमा दुई विकेटको सफलता दिलाएका थिए। तर, टेलरलाई रोक्न नसक्दा नेपाल हार बेहोर्न बाध्य भयो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय योगदानका बावजुद ४८ ओभरमा अलआउट हुनुअघि १ सय ७४ रन मात्र जोडेको थियो। निकै खराब सुरुआत गरेको नेपालको इनिङमा ज्ञानेन्द्रले ५५ रनको अर्धशतकीय इनिङ खेले। 

नेपालले तेस्रो ओभरमा नै ओपनर आसिफ शेखलाई ३ रनमा गुमाएको थियो। तर, ज्ञानेन्द्रले इनिङ समाल्दै कुशल भुर्तेलसँग ५१ रनको साझेदारी गरे। यद्यपि, राम्रो ब्याटिङ लयमा देखिएका कुशल ३६ रनमा आउट भए। करिमा गोरद्वारा बोल्ड हुनुअघि कुशलले ४३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। उनी आउट हुँदा नेपाल ११.३ ओभरमा ५६–२ को अवस्थामा थियो।  

तर, त्यसपछि नेपालले छिट्टै विकेट गुमायो। रोहित पौडेल २ र विनोद भण्डारी १० रनमा क्रमशः तेस्रो र चौथो विकेटका रूपमा आउट भए। चौथो विकेट पतन र सुस्त गतिमा रनका कारण नेपाल २३.३ ओभरमा ८९–४ को नाजुक अवस्था थियो।

 तर, डेब्युटेन्ट गुल्सन झाले पाँचाैँ विकेटका लागि कप्तान ज्ञानेन्द्रसँग ५१ रनको साझेदारी गर्दै राम्रो साथ दिए। तर, अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्राभालकरले गुल्सनलाई २८ रनमा पवेलियन फर्काउँदै नेपालको इनिङ पुनः कमजोर पारे। गुल्सनले ५३ बलमा २ चौका र एक छक्का प्रहार गरे। उनी आउट हुँदा नेपाल ३८.२ ओभरमा १४०/५ को अवस्था थियो।

त्यसपछि नेपालले खातामा थप ३५ रन जोड्दा पाँच विकेट गुमाएपछि अमेरिकाले न्यून लक्ष्य पाएको हो। त्यसपछिका ब्याट्सम्यान कुशल मल्ल शून्यमा आउट हुँदा सोमपाल २ रन, करन १२ रन र सन्दीप ११ रनमा आउट भए। कप्तान ज्ञानेन्द्र भने आठौं विकेटका रूपमा पवेलियन फर्किए। 

कायल फिलिपद्वारा आउट हुनुअघि ज्ञानेन्द्रले १ सय ५ बलमा तीन चौका हिर्काए। अमेरिकाका तीव्र गतिका बलर सौरभले चार विकेट लिँदै नेपालको इनिङ धराशयी बनाए। उनले ९ ओभरमा २९ रन मात्र खर्चिए। फिलिपले तीन विकेट लिँदा करिमा गोर, इलमोर हुचिनसन र नोस्थुस केन्जिगले १÷१ विकेट निकाल्दै नेपालको इनिङ दुई ओभरअगावै समेटे।

प्रकाशित: २ आश्विन २०७८ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App