१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एएफसी महिला एसिया कप छनोट: युवालाई क्षमता प्रमाणित गर्ने अवसर

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले शनिबार एएफसी महिला एसिया कप छनोटमा फिलिपिन्सको सामना गर्दा युवा खेलाडीले आफूलार्ई प्रमाणित गर्ने सुनौलो अवसर भएको बताएका छन्।

‘नेपाली महिला फुटबल खेलाडीका लागि यो एउटा अवसर हो,’ फिलिप्सले भने, ‘महिला फुटबल प्रवर्धनमा मात्र नभई आफ्नो खेलक्षमता प्रमाणित गर्ने अवसर पनि हो।

एएफसी महिला एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ७ खेलाडीले पहिलो पटक स्थान बनाउन सफल भएका थिए। छनोट चरणको तयारीका लागि करिब ६ सातादेखि बन्द प्रशिक्षणमा रहेको नेपालले हालै मात्र बंगलदेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल जितेको नेपाल दोस्रो खेलमा भने गोलरहित बराबरीमा रोकिएको थियो।

बंगलादेशविरुद्धको पहिलो खेलमा समान एक गोल गर्र्दै आफ्नो डेब्यु सुखद पारेका प्रीति राई र सविता राईसँगै सरु लिम्बुले शनिबार फिलिपिन्सविरुद्ध नेपालको अग्रपंक्ति सम्हाल्ने सम्भावना बढी छ।  

नेपाली महिला टोली महत्वपूर्ण सदस्य सावित्रा भण्डारीबिना मैदान उत्रन लागेको यो नै पहिलो पटक हो। त्यसैले यी युवा खेलाडीलाई सावित्राको अनुपस्थितिमा आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसरसमेत छ।

‘युवा खेलाडीको उपस्थितिले टोलीमा विशेष ऊर्जा थपिएको छ,’ उनले भने, ‘हामी फिलिपिन्सविरुद्ध जितका साथ प्रतियोगितामा सुखद सुरुआत गर्दै सन् २०२२ को एसिया कपको टिकट सम्भावना बलियो पार्न चाहन्छाैँ।’

सन् १९८६ को एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय महिला फुटबलमा डेब्यु गरेको नेपाललले सन् १९८९ र १९९९ गरी तीन पटक एसिया कप खेलिसकेको छ। जहाँ हङकङ नेपालका लागि नौलो प्रतिद्वन्द्वी होइन। हालसम्म नेपाल र हङकङ दुई पटक आमनेसामने भएका छन्। 

दुवै पटक हङकङले बाजी मारेको छ। त्यस्तै नेपालले फिलिपिन्ससँग एक पटक मात्र खेलेको छ। सन् १९९९ मा भएको खेलमा नेपाल फिलिपिन्ससँग ५–० ले पराजित भएको थियो। समूह ‘एफ’ मा रहेको नेपालले असोज ५ गते दोस्रो खेलमा हङकङको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ।

यता फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले कोभिड १९ का कारण व्यावसायिक लिगका लागि टोलीका महत्वपूर्ण खेलाडीहरू जापान, अमेरिकालगायतका राष्ट्रमा भएकाले उनीहरू आउन नपाएकाले टोलीको तयारी सन्तोषजनक नभएको बताए। 

यद्यपि सुखद नतिजा ल्याउनेमा मारो आशावादी देखिए।‘टोली युवा खेलाडीको बाहुल्यता रहेको छ,’ मारोले भने, ‘उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सुखद नतिजा ल्याउनेमा आशावादी छु।’

प्रकाशित: २ आश्विन २०७८ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App