१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फुटबल प्रशिक्षक तालिम सुरु

विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।

मोरङ जिल्ला फुटबल संघको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको ‘डी’ लेबलको लाइसेन्स तालिमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले असल प्रशिक्षक बन्ने पहिलो खुड्किलो राम्रोसँग चढ्न आग्रह गरे।

असल र उत्कृष्ट प्रशिक्षक बन्ने पहिलो खुड्किलो भएकाले सबै सहभागीहरूलाई शुभकामनाका दिँदै, प्रमुख पराजुलीले भने, ‘एउटा खेलाडीले राम्रो प्रशिक्षक बनेर महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’ ‘कोरोना महामारीबाट खेल र खेलाडी केही पछि धकेलिए पनि राज्यले खेलाडी उत्पादन गर्नुपर्छ। 

राज्यले खेलकुदलाई विशेष प्राथमिकतामा अझसम्म पनि राख्न सकेको छैन,’ उनले भने, ‘खेल र खेलाडीलाई निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने हुन्छ। निजी क्षेत्रसँग सहकार्य गर्दै खेलाडीलाई व्यवसायी बनाउनु जरुरी रहेको छ।’

मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालले मोरङमा पहिलो पटक तालिम आयोजना गरिएको बताए। प्रशिक्षककोे माध्यमबाट फुटबल क्लबलाई चुस्त बनाउन सक्ने बताउँदै, धिमालले भने, ‘खेलकुदलाई स्थानीय तहले प्रोत्साहन गर्न जरुरी रहेको छ।’

सो अवसरमा एन्फाका मानार्थ पूर्वउपाध्यक्ष तथा वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, एन्फाका पूर्व सहमहासचिव वसन्त अर्याल, महिला फुटबल टोलीकी पूर्वकप्तान तथा एसएसपी मीरा चौधरी, पूर्वखेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।  

‘डी’ लाइसेन्सका लागि ३७ जनाको सहभागिता रहेको छ। मोरङबाट २७, खोटाङबाट २, धनकुटाबाट २, इलाम, ताप्लेजुङ, सुनसरी, तेह्रथुम, काठमाडौं र उदयपुरबाट १–१ जनाको सहभागिता रहेको बताइएको छ। उक्त प्रशिक्षणमा एन्फाका हेड अफ कोच एजुकेसन संजित सिंह र एन्फाका हेड अफ इलिट युथ नवीन महर्जनले सहजीकरण गरेका छन्। 

प्रकाशित: १ आश्विन २०७८ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App