coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग:रोनाल्डोको केही सीप लागेन

क्रिस्टियानो रोनाल्डोले ओल्ड ट्राफोर्ड क्लबमा आफ्नो उपस्थिति सही साबित गर्न कुनै अवसर खेर नफाले पनि उनको क्लब म्यानचेस्टर युनाइटेड मंगलबार च्याम्पियन्स लिगमा योङ ब्वाइजसँग स्तब्ध भएको छ।

विश्वस्तरीय खेलाडी पुनरागमनमा च्याम्पियन्स लिग खेलेको युनाइटेड मंगलबार समूह ‘एफ’ को पहिलो खेलमा स्विस क्लब योङ ब्वाइजसँग २–१ ले स्तब्ध भएको हो। युनाइटेड फर्केयता उनले दुई खेलमा तेस्रो गोल गरे पनि ओल्ड ट्राफोर्ड टोलीको पराजय टार्न भने सकेनन्। 

योङ ब्वाइजको घरेलु मैदान वान्कडर्फ स्टेडियममा रोनाल्डोकै गोलमा युनाइटेडले सुरुआतमै अग्रता लिएको थियो। आरोन वानबिसाका रातो कार्ड खाएर बाहिरिएपछि पहिलो हाफअगावै युनाइटेड १० खेलाडीमा सीमित भयो। स्विस च्याम्पियन योङ ब्वाइजले सन् १९५९ पछि युरोपियन फुटबलमा अर्को उत्कृष्ट प्रदर्शन  गर्‍यो।

सन् १९५९ मा योङ ब्वाइजले युरोपियन कपको सेमिफाइनलसम्म स्थान बनाएको थियो। योङ ब्वाइजका क्यामरुनी खेलाडी निकोलस मौमी एगामलउले ६६औं मिनेटमा गोल फर्काउँदै युरोपियन फुटबलमा राम्रो प्रदर्शन गर्ने संकेत गरेका थिए। 

अमेरिकी फरवार्ड जोर्डन सिबाचेयुले इन्जुरी समयमा गोल फर्काउँदै योङ ब्वाइजका लागि  महत्त्वपूर्ण जित दिलाए। जेसे लिंगार्डको ब्याक पास सदुपयोग गर्दै जोर्डनले गोल गरेका थिए। समूहमा कठिनपूर्ण टोली मानिएका एटलान्टा र भिल्लारियलसँग खेल्न बाँकी छँदा नै युनाइटेड पराजय भोग्न बाध्य भयो। तुलनात्मक रूपमा यस समूहमा योङ ब्वाइजलाई कमजोर टोली मानिएको थियो।  

तर, यही टोलीसँग पराजित हुँदा युनाइटेडमाथि दबाब परेको छ। गत सिजनको युरोपा लिग फाइनलमा पनि युनाइटेड भिल्लारियालसँग पराजित भएको थियो। ‘हामीलाई १० या १२ अंक आवश्यक पर्नेछ। त्यसका लागि घरेलु मैदानको खेल जित्नुपर्ने हुन्छ। तथापि, हामीले तीन अंक लिने अवसर भने गुमायौं,’ युनाइटेडका प्रशिक्षक सोल्सजायरले भने, ‘आगामी दुई खेल घरेलु मैदानमा नै हुनेछ, जुन हामीले जित्नै पर्छ।’ गत सिजन युनाइटेडले समूहका सुरुआती दुई खेलमा पेरिस सेन्ट जर्मेन र आरबी लिपजिगजस्ता बलिया टोलीविरुद्ध जित निकाले पनि तेस्रो स्थानमा खुम्चिँदै खराब अन्त्य गरेको थियो।

यस सिजन ओल्ड ट्राफोर्ड क्लब युनाइटेडले यादगार बनाउने आशा गरिए पनि सुरुआत राम्रो भने राम्रो हुन सकेन। सन् २०११ को च्याम्पियन्स लिग फाइनलमा बार्सिलोनासँग पराजित भएयता युनाइटेडले युरोपियन फुटबलमा राम्रो गर्न सकेको छैन। 

विश्व फुटबलमा चौथो ठूलो धनी क्लब युनाइटेडले सन् २०१३ यता घरेलु लिग इङ्लिस प्रिमियर लिग पनि जित्न सकेको छैन। तर, यस सिजन पोर्चुगिच स्टार रोनाल्डो, जाडोन सान्चो र राफायल भारानलगायत खेलाडीलाई अनुबन्धित गरेको युनाइटेडले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ।

सन् २००९ पछि युनाइटेडको जर्सीमा देखिएका रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए। उनले इकर कासिलासको नाममा रहेको १ सय ७७ खेलको कीर्तिमान बराबरी गरेका हुन्। तथापि, यस दिनलाई रोनाल्डोले यादगार बनाउन सकेनन् र युनाइटेड च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित भयो।

 मंगलबार नै समूह ‘ई’ को खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित हुँदा डाइनामो किभ र बेनफिकाले गोलरहित बराबरीमा खेले। बायर्नका लागि रोबर्ट लेवान्डोवस्कीले दुई र थोमस मुलरले एक गोल गरेका थिए।

साबिकको विजेता चेल्सीले रोमेलु लुकाकुको गोल प्रेरणामा रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीका लागि लुकाकुले ६९औं मिनेटमा गोल गरेका थिए। 

चेल्सीकै समूह ‘एच’ मा रहेको युभेन्ट्सले माल्मोलाई ३–० ले पराजित गर्दै सुखद सुरुआत गरेको छ। युभेन्ट्सका लागि पाउलो डिबाला, एलेक्स सान्ड्रो र अल्भारो मोराटाले १/१ गोल गरेका थिए। अन्य खेलमा भिल्लारियल र एटलान्टाले २–२, सेभिया र साल्सबर्गले १–१ तथा लिले र उल्फ्सबर्गले गोलरहित बराबरीमा खेले।

प्रकाशित: ३१ भाद्र २०७८ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App