९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

केन्द्रीय बैंकको अध्ययन: गण्डकीमा घट्यो कृषि भूमि

गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ। केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ।

अध्ययनअनुसार सो प्रदेशमा चार लाख लाख ३७ हजार नौ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ। त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ। अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ।

त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र आठ दशमलव ३८ प्रतिशतले कमी आएको छ। प्रमुख कृषि बालीको उत्पादनमा भने चार दशमलव ७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ।

खाद्य तथा अन्य बालीको उत्पादनमा चार दशमलव ७१ प्रतिशत, तरकारी उत्पादनमा पाँच दशमलव ४४ प्रतिशत, फलफूल उत्पादनमा तीन दशमलव ८० प्रतिशत र मसला उत्पादनमा चार दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन तीन दशमलव ३८ प्रतिशत, अण्डाको उत्पादन १५ दशमलव २९ प्रतिशत र मासुको उत्पादन एक प्रतिशतले ह्रास आएको छ भने माछाको उत्पादनमा चार दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ। वनजन्य उत्पादनतर्पm काठको उत्पादनमा २६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा तीन दशमलव १४ प्रतिशतले कमी आएको छ। सो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन्। यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव १४ प्रतिशत रहेको छ।

त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा यस्तो अनुपात ४२ दशमलव चार प्रतिशत रहेको थियो। सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छभने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको आठ दशमलव ८८ प्रतिशत अर्थात् ३१ अर्ब एक करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन्। सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या छ दशमलव एक प्रतिशतले वृद्धि भई ५५ हजार एक सय ४९ रहेको छ। त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४ दशमलव तीन प्रतिशतले वृद्धि भई ७३ हजार एक सय २६ रहेको छ भने होटलहरूको अकुपेन्सी ३० दशमलव ७३ प्रतिशत छ। जुन गत वर्ष २४ दशमलव ६१ प्रतिशत थियो।

आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरूपको सकारात्मक प्रभाव देखिएको हो। प्रदेशमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार चार सय ८५ पटक उडान भएको छभने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७ दशमलव ८५ प्रतिशत रहेको छ। गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४ दशमलव ५४ प्रतिशत थियो।

सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः तीन दशमलव ४० प्रतिशत र चार दशमलव १६ प्रतिशतले कमी आएको छ। साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरू गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत दुई दशमलव ८२ प्रतिशतले कमी आएको छ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई पाँच खर्ब ३४ अर्ब ४० करोड पुगेको छ। कुल कर्जा प्रवाह भने एक दशमलव सात प्रतिशतले ह्रास भई रु तीन खर्ब ४९ अर्ब सात करोड पुगेको छ। पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा नौ दशमलव ९० प्रतिशतले वृद्धि भई २३ अर्ब ७६ करोड पुगेको छ।

प्रकाशित: ९ मंसिर २०८१ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App