१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको लज्जास्पद हार

जतिन्दर सिंहको आक्रामक शतकप्रेरित ओमानसँग नेपालले विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा मंगलबार लज्जास्पद हार बेहोरेको छ। जतिन्दरको शतकीय प्रेरणामा ओमानले आफ्नो घरेलु मैदान अल अमेरतमा १ सय ९७ रनको मध्यम लक्ष्य ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेपछि नेपालले लज्जापूर्ण हार बेहोरेको हो। 

यससँगै एकदिवसीय विश्वकप २०२३ को छनोट चरण यात्रासमेत रहेको यस प्रतियोगितामा नेपालले ६ खेलबाट तेस्रो हार बेहोर्‍यो। सात राष्ट्र रहेको विश्वकप लिग–२ मा नेपालले यसअघिका दुई हार पनि आफ्नै घरेलु मैदानमा ओमानसँगै बेहोरेको हो। तेस्रो भेटमा पनि ओमानले पाहुना टोली नेपाललाई सहजै हराउँदा जतिन्दरले १ सय ७ रनको यादगार प्रदर्शन गरे।

नेपाली बलरमाथि पूर्ण रूपमा हाबी भएका जतिन्दरले ६० बलमै शतक पूरा गरेका थिए। २५.३ ओभरमा कुशल मल्लद्वारा आउट हुनुअघि उनले ६२ बल खेल्दा १२ चौका र ६ छक्का हिर्काए। सोमपाल कामीको एकै ओभरमा जतिन्दरले ३० रन बटुले। 

पाँचौं ओभरमा उनले तीन चौका र तीन छक्का प्रहार गर्दा सोमपाल महँगा साबित भए। दोस्रो ओभरदेखि नै नेपाली बलरमाथि हाबी जतिन्दरले अर्का तीव्र गतिका बलर विक्रम सोबको ओभरमा पनि दुई चौका र १ छक्का हिर्काए। त्यसअघि नेपालले चौथो ओभरको चौथो बलमा नै पहिलो सफलता पाएको थियो।

करणले सोहिब खानलाई ७ रनमा विनोद भण्डारीबाट क्याच गराउँदै नेपाललाई सुखद सुरुआत दिलाएका थिए। तर, नेपालका बलर जतिन्दरसामु निरीह बन्दा ओमानले छिट्टै खेल आफ्नो नियन्त्रणमा लियो। ओमानले एक विकेटको क्षतिमा नवौं ओभरमै सय रनको आँकडा पार गरेको थियो। त्यसपछि नेपालका बलरले किफायती बलिङ गर्ने प्रयास गरे पनि ओमानलाई जितबाट रोक्न सकेनन्।

ओमानले ११औं ओभरमा आयन खानलाई १८ रनमा दोस्रो विकेटका रूपमा गुमाएको थियो। त्यसपछि आएका कप्तान जिसन मक्सुद ४ रनमै पवेलियन फर्किए। तथापि, १४औं ओभर सकिँदा तीन विकेट गुमाएको ओमान १ सय २३ रनको राम्रो स्थितिमा थियो।

अर्को छेउबाट पनि जतिन्दरले इनिङ समाल्दा ओमानले १ सय १३ बलअगावै जित प्राप्त ग¥यो। ओमानका लागि मोहम्मद नदिमले अविजित ३५ रन र विकेटकिपर सुरज कुमारले २० रन जोडे। निकै महँगो साबित भएको नेपालको बलिङमा कुशल मल्ल र करणले समान २/२ विकेट लिँदा सुशन भारीले १ विकेट निकाले। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमै समेटियो। खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालको इनिङमा ओपनर आसिफ शेखले ९० रन बटुल्दै ढेड सय रनको आँकडा पार गराएका थिए।

एक पटक जीवनदान पाएका आसिफले १ सय १२ बलमा सात चौका र एक छक्का हिर्काए। ३५.३ ओभरमा बिलाल खानद्वारा बोल्ड भएपछि उनी शतकनजिक पुगेर पनि चुके। उनी नेपालको सातौं विकेटका रूपमा आउट भएका थिए। बिलालको तीव्र गतिको बलिङसामु नेपालका अन्य ब्याट्सम्यान क्रिजमा टिक्नै सकेनन्।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१ रन बनाए। रोहितकुमार पौडेलले २० रन र सन्दीप लामिछानेले १६ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले ५८ रन बनाएर नेपालका लागि सबैभन्दा ठूलो साझेदारी गरेका थिए। दोस्रो विकेटका रूपमा ज्ञानेन्द्र नदिमद्वारा आउट भएपछि आसिफले अन्य ब्याट्सम्यानबाट खासै राम्रो साथ पाउन सकेनन्।

रोहितसँग आसिफले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे। धम्बाद्वारा रोहित आउट हुँदा नेपाल २३.१ ओभरमा १००/३ को मध्यम स्थितिमा थियो। तर, त्यसपछि खातामा थप ९६ रन जोड्दा नेपालले सात विकेट गुमाएसँगै दुई सय रनको आँकडा पार गर्न सकेन। बिलालले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक चार विकेट लिँदा नेस्टर धम्बाले दुई तथा मोहम्मद नदिम र कप्तान जिसन मक्सुदले १/१ विकेट निकाले।

प्रकाशित: ३० भाद्र २०७८ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App