१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

दुई वर्षीय विश्वकपको विपक्षमा समर्थक

विश्वभरका फुटबल समर्थकहरूले आफू हरेक दुई वर्षमा विश्वकप हुने प्रस्तावको विपक्षमा रहेको मंगलबार बताएका छन्।  

फिफाको गत मेमा भएको कांग्रेसमै पुरुष तथा महिला दुवैतर्फ प्रत्येक दुई वर्षमा विश्वकप गर्ने विषयमा छलफल भएको थियो। तर युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए तथा युरोपका शीर्ष क्लबहरूले चर्को विरोध गरेका थिए। 

आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगर हाल विश्व फुटबल महासंघ (फिफा) को डेभलपमेन्ट डाइरेक्टर छन्। उनले हरेक दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव अघि सारेका थिए। ‘बहुमत समर्थकहरू यो प्रस्तावको विपक्षमा रहेका छन्। फिफाले पनि यस विषयमा अभैm सबैसँग सल्लाह लिनुपर्दथ्यो,’ ५८ देशका समर्थकहरूको संस्था र ६ वटा देशका फुटबल संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनीहरूले प्रस्तावलाई शताब्दीदेखि चलेको परम्परा भत्काउने योजनाका रूपमा लिएका छन्। साथै यस किसिमको योजनाले फुटबल विकास नहुने पनि उनीहरू जोड थियो। ‘शताब्दीदेखिको मुल्यवान् परम्परालाई त्याग्ने काम भइरहेको छ। यसले फुटबलको विकास नै गर्छ भन्ने कुनै प्रमाण देखिँदैन,’ समर्थकले भने। यस किसिमका व्यवस्थाले स्थानीय, घरेलु, महादेशीय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्यालेन्डरलाई पनि ध्वस्त बनाउने समर्थकहरूको चेतावनी छ। ‘विश्वकपको वर्तमान योजनाले घरेलु, महादेशीय र अन्तर्राष्ट्रिय प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण योगदान दिइरहको छ। यो परम्पराले यिनीहरूबीचको सन्तुलन पनि कायम गरेको छ,’ समर्थकले भनेका छन्।

हरेक दुई वर्षमा विश्वकप हुने प्रस्तावप्रति विश्वका ठूला क्लबका साथै केही महादेशका प्रमुखले पनि असहमति जनाइसकेका छन्। सोमबार मात्रै युइएफएका अध्यक्ष एलेक्जान्डर सेफरिनले हरेक दुई वर्षमा विश्वकप हुनुले विश्व फुटबलको गहनालाई कमजोर बनाउने चेतावनी दिएका थिए। यद्यपि, एसियाली फुटबलका चार राष्ट्र भने यो प्रस्तावको पक्षमा देखिएका छन्।

 नेपालसहित दक्षिण एसियाका चार राष्ट्रले चार वर्षको सट्टा प्रत्येक दुई वर्षमा विश्वकप गर्दा खेलको विकासमा थप योगदान मिल्ने सहमति जनाएका थिए। नेपालसहित फिफाको प्रस्तावका पक्षमा सहमति जनाउनेमा बंगलादेश, माल्दिभ्स र श्रीलंका पनि छन्।

व्यावसायिक फुटबल उत्कर्षमा रहेको युरोपले विरोध गरे पनि नेपालसहित दक्षिण एसियाका चार देशले आफूहरू फिफाको प्रस्तावको पक्षमा रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। दुई वर्षमा विश्वकप गर्ने पक्षमा फिफाका १ सय ६६ सदस्य देश उभिइसकेका छन्। समर्थकहरूका समूहले यो प्रस्ताव रोक्न फिफा र राष्ट्रिय फुटबल संघलाई आग्रह गरेका छन्। समर्थकले २४ महिनामा विश्वकप हेर्नका लागि यात्रा गर्ने समय र पैसा आफूहरूसँग नहुने उल्लेख गर्दै पछिल्लो परम्परामा नै खुसी रहेको बताएका छन्। 

प्रकाशित: २४ भाद्र २०७८ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App