१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित पक्का गरेको दिन आइतबार म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ।

प्रिमियर लिगअन्तर्गत आइतबार राती भएका खेलमा टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। टोटेनह्यामको जितमा १०औं मिनेटमा डिले अलीले गरेको गोल नै निर्णायक बन्यो। 

उल्भरह्याम्पटनका गोलकिपर जास सले डिले अलीलाई लडाएपछि टोटेनह्यामले पेनाल्टीको अवसर पाएको थियो। जसलाई अलीले सहजै जाली चुमाए। यसअघि पहिलो खेलमा टोटेनह्यामले साबिकको विजेता म्यानचेस्टर सिटीमाथि १–० को रोमाञ्चक जित निकालेको थियो। टोटेनह्यामका प्रशिक्षक नुनो स्प्रिन्टो सान्टोले कप्तान ह्यारी केनलाई खेलको अन्तिम मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गराएका थिए।

केन इन्जुरी समयको पहिलो मिनेटमा स्टेभन बर्गवाइनको स्थानमा मैदान प्रवेश गरेका थिए। यसअघि पहिलो खेलमा सिटीविरुद्ध भने केन बेन्चमै सीमित भए। केन यस सिजन प्रिमियर लिगमा पहिलो पटक मैदान उत्रिएसँगै उनको सिटी जाने सम्भावना लगभग अन्त्य भएको छ। यता युनाइटेड भने साउथह्यामटनसँग १–१ को बराबरीमा रोकिएपछि रबाफिलो जितलाई निरन्तरता दिन सकेन। पहिलो खेलमा भने युनाइटेडले लिड्स युनाइटेडमाथि ५–१ को जित निकाल्दै यस सिजनमा रबाफिलो सुरुआत गरेको थियो।

घरेलु मैदानमा भएको दोस्रो खेलमा भने युनाइटेड अंक बाँड्न बाध्य बन्यो। ३०औं मिनेटमा युनाइटेडका फ्रेडले गरेको आत्मघाती गोलमा साउह्याम्पटनले अग्रता लिएको थियो। साउथह्याम्पटनका चे एडम्सले गरेको प्रहार रोक्ने क्रममा बलले फ्रेडलाई छुदै जाली चुम्न पुग्यो। ५५औं मिनेटमा मासोन ग्रिनउडले युनाइटेडलाई खेलमा फर्काएका थिए। ग्रिनउडले पाउल पोग्बाको पासमा गोल गरेका थिए। 

ओले गनर सोल्सजायरको टोली युनाइटेड ग्रिनउडको त्यो गोलमा नै एक अंक बटुल्न सफल भयो। गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो। युनाइटेडका पाउल पोग्बा र ब्रुनो फर्नान्डेजको प्रहार साउथह्याम्पटनका गोलकिपर एलेक्स म्याकर्थीले बचाउ गर्दै आफ्नो टोलीलाई हारको संकटबाट बचाए। 

प्रकाशित: ७ भाद्र २०७८ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App