प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको पहिलो दिन कुल ६ खेलाडीले संयुक्त अग्रता लिएका छन्।
साउथ वेस्टर्न स्टेट कलेजको आयोजनामा मंगलबारदेखि सुरु प्रतियोगितामा पहिलो दिन ६ खेलाडी संयुक्त रूपमा शीर्ष स्थानमा छन्। चार चरणको खेल सकिँदा बिर्तामोड कलेजका मिसन दाहाल, हेराल्ड कलेजका रिसोन थापा, बिएन एकेडेमीका अविन पाण्डे, आयोजक साउथ वेस्टर्नका पुरुषोत्तम सिलवाल, पुलचोक इन्जिनियरिङ कलेजका सुजन काफ्ले र सेन्ट जेभियर्सका अभिक शाह संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
वसुन्धरास्थित आयोजककै हातामा भइरहेको प्रतियोगितामा कुल ९ चरणसम्म खेल हुनेछन्। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए।
सो अवसरमा आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, टोखा नगरपालिका–७ का अध्यक्ष नरोत्तम राणा, वडा–५ का अध्यक्ष मदन गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसीलगायत उपस्थित थिए।
दुई दिने प्रतियोगितामा विभिन्न ४० कलेजका सयभन्दा बढी खेलाडी सहभागी छन्। कुल नगद पुरस्कार राशि एक लाख ४२ हजार रुपैयाँ रहेको छ। शीर्ष तीन स्थानका खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पार्नेछन्। सातौंदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। महिलातर्फ शीर्ष २ स्थान हात पार्नेलाई छुट्टै क्रमशः १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरिनेछ।
प्रकाशित: २८ श्रावण २०८२ ०७:०८ बुधबार

