coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिकलाई मिश्रित प्रतिक्रिया

कोभिड–१९ संक्रमणको त्रासका बीच टोकियो ओलम्पिक २०२० आइतबार सम्पन्न भयो। विवादका बीच ३२औं गृष्मकालीन ओलम्पिक आयोजना भएको थियो। विश्व खेलकुदको महाकुम्भ मेला समापनपछि पनि मानिसहरूले आयोजनाबारे मिश्रित प्रतिक्रिया दिइरहेका छन्। ओलम्पिक आयोजकहरूले कठिन परिस्थितिका वावजुद आफूहरूले सोचेभन्दा राम्रो तरिकाले प्रतियोगिता सम्पन्न भएको दाबी गरिरहेका छन्। प्रतियोगिता दौरान ओलम्पिक भिलेजमा केही खेलाडी र पदाधिकारीहरूमा कोभिड–१९ को संक्रमण पुष्टि भएपनि ओलम्पिक भिलेज कोभिड–१९ को हटस्पट भने नबनेको आयोजक र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को दाबी थियो।  

‘महामारीका कारण एक वर्ष ढिला गरी आयोजित टोकियो ओलम्पिक २०२० जापान सरकार र यहाँका नागरिकहरूको दृढ संकल्पका कारण सम्पन्न भएको हो,’आइतबार समापन समारोहमा सम्बोधन गर्दै आइओसीका अध्यक्ष थोमस बाचले भने, ‘यस संस्करणको ओलम्पिकले खेलकुदमा एकताको राम्रो सन्देश प्रवाह गरेको छ।’ तर, टोकियोलगायत अन्य सहरमा पछिल्ला केही दिनयता कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएसँगै ओलम्पिक आयोजना समापनपछि पनि आलोचित बन्न पुगेको छ।

जापानको दी आसाही सिम्बान नामक एक दैनिकले १५ बिलियन डलर लागतमा सम्पन्न टोकियो ओलम्पिक २०२० जापानी नागरिकको जीवनसँग खेलिएको जुवाको रूपमा संज्ञा दिएको छ। ‘विरोधका बीच जुवा जारी रह्यो । जसले यहाँको स्थिति झन् भयावह बनाइदिएको छ,’दी आसाही सिम्बानले उल्लेख गरेको छ। दी आसाही सिम्बानले पछिल्ला दुई दिनमा गरेको सर्वेक्षणमा पनि करिब ५६ प्रतिशत जापानी नागरिकले टोकियो ओलम्पिक २०२० स्थगन गर्नुपर्ने मत राखे पनि जबरजस्ती प्रतियोगिता आयोजना गरिएको जनाएको छ।  

३२ प्रतिशतले भने प्रतियोगिता आयोजनाप्रति गर्व भएको बताएका थिए । गत वर्ष नै आयोजना हुनुपर्ने भएतापनि विश्वभर महामारीफैलिएकाले टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सम्पन्न भएको थियो। सन् १८९६ मा आधुनिक ओलम्पिक सुरु भएपछि प्रतियोगिता स्थगित हुँदै पर धकेलिएको यो नै पहिलो पटक हो। कोभिड–१९ महामारीका कारण अहिले पनि जापानका टोकियोलगायत अधिकांश सहरमा स्वास्थ्य संकटकाल जारी छ।

विदेशी समर्थकमाथि यसअघि नै रोक लगाएको जापान सरकारले प्रतियोगिताका अधिकांश खेलस्थलमा स्थानीय दर्शक प्रवेशमा रोक लगाएको थियो। तर, समर्थकहरू मैदानमा प्रत्यक्ष उपस्थित नभई रोडबाटै भए पनि ओलम्पिकको मज्जा लिइरहेका भेटिन्थे। सरकारको रोकविपरीत सडकबाटै भए पनि जापानी तथा विदेशी खेलाडीको समर्थनमा उत्रिएका स्थानीय समर्थकले ओलम्पिक खेलप्रति प्रतिबद्ध रहेको संकेत दिएका थिए।

‘सडकमा खेलाडी ओहोरदोहोर गरिरहँदा तथा रोड रोसमा दौडिरहँदा हामी उनीहरूको नजिक जान सक्दैनाैँ। तर यसले हाम्रो समर्थनमा कुनै कमी आउँदैन,’ वर्षाका बीच घरको झ्यालबाट महिला ट्रायथोलन हेरिरहेका ४२ वर्षे हेरोसिका ताकेडाले भने, ‘मैले पनि ओलम्पिक आयोजनाप्रति प्रश्न उठाएको थिएँ। तर जब प्रतियोगिता सुरु भयो, म यसबाट पर भाग्न सकिनँ।’ शनिबार मात्र आइओसीका अध्यक्ष बाचले टोकियो ओलम्पिक २०२० असफल होला भन्ने डर भए पनि प्रतियोगिता सोचेभन्दा सफल भएको र खेलाडीहरूले प्रतियोगितालाई मूर्त रूप दिएको बताएका थिए।

प्रकाशित: २६ श्रावण २०७८ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App