८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

भेरेभले दिलाए जर्मनीलाई स्वर्ण

जर्मनी स्टार एलेक्जान्डर भेरेभले आइतबार रसियन ओलम्पिक कमिटीका कारेन खाचनोभलाई सीधा सेटमा हराउँदै जर्मनीका लागि टेनिसमा सन् १९९२ पछि पहिलो ओलम्पिक स्वर्ण दिलाएका छन्।

आरियाके टेनिस पार्कमा आइतबार सम्पन्न पुरुष एकलको फाइनलमा विश्व नम्बर पाँच भेरेभले रसियन प्रतिद्वन्द्वी कारेनमाथि ६–३ र ६–१ को जित निकाल्दै जर्मनीलाई २९ वर्षपछि ओलम्पिकमा स्वर्ण दिलाएका हुन्। सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई स्तब्ध बनाएका भेरेभले फाइनलमा रसियन प्रतिद्वन्द्वीमाथि ७९ मिनेट समयमा नै जित निकाले। ‘मैले अन्य केही पनि सोचेका थिइनँ र म आफ्नो लागि पनि खेलेको होइन। म देशका लागि खेलिरहेको थिएँ,’ ऐतिहासिक जित निकालेपछि भेरेभले भने। उनी एकलतर्पm स्वर्ण जित्ने दोस्रो जर्मन खेलाडी हुन्।

पछिल्लो पटक सन् १९८८ मा स्टेफी ग्राफले महिला एकलमा स्वर्ण जितेकी थिइन्। त्यसको चार वर्षपछि नै बोरिस बेकर र मिकाइल स्टिचले पुरुष डबल्समा जर्मनीलाई स्वर्ण दिलाएका थिए। भेरेभ कयौं पटक ग्रान्ड स्लामको फाइनलमा पुगे पनि अझै पहिलो उपाधिको पर्खाइमा छन्। गत वर्ष युएस ओपनको फाइनलमा डोमिनिक थिमसँग दुई सेटमा अग्रता लिनाका बावजुद उनी ग्रान्ड स्लाम उपाधि जित्न चुकेका थिए। केही हप्ताअगाडि मात्र विम्बल्डनको क्वार्टरफाइनलमा पुगेका कारेनले टोकियोमा लय समात्दै फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न भने सकेनन्।

‘उन (भेरेभ) ले निकै राम्रो खेले। उनको कारण नै मैले आज केही राम्रो गर्न सकें,’ कारेनले भने । भेरेभ र कारेनबीच फाइनल चलिरहँदा स्टेडियमबाहिर टोकियो ओलम्पिकविरुद्ध प्रदर्शन भइरहेको थियो। ‘बाहिर प्रदर्शन भइरहेको थियो । तर, त्यो के थियो भन्ने थाहा भएन,’ कारेनले भने, ‘हामी दुवैलाई त्यसले निकै दिक्क लागिरहेको थियो।’ विश्व नम्बर २५ का कारेनले पहिलो सेटमा केही चुनौती दिए पनि दोस्रो सेट भने सहजै गुमाए। पुरुष एकलमा विश्व नम्बर एक नोभाक जोकोभिच कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि पराजित भएका थिए।

आइतबार नै भएको महिला डबल्समा चेक रिपब्लिककी बार्बोरा क्रेचिकोभा र काटरिना सिन्जाकोभाले स्वर्ण पदक जिते। यो जोडीले फाइनलमा स्विट्जरल्यान्डका बेलिन्डा बेनसिच र भिक्टोरिजालाई ७–५ र ६–१ ले हराएको थियो। यो हारसँगै बेनसिचले यस ओलम्पिकमा दोस्रो पटक स्वर्ण जित्ने अवसर गुमाइन्। उनले शनिबार महिला एकलको फाइनलमा रसिया ओलम्पिक कमिटीकी मार्केटा भोन्ड्य्रुसोभालाई हराएकी थिइन्।

प्रकाशित: १८ श्रावण २०७८ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App