७ वैशाख २०८१ शुक्रबार
खेल

जोकोभिच सेमिफाइनलमा

केई निसिकोरीलाई सोझो सेटमा पराजित गर्दै नोभाक जोकोभिच बिहीबार टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसतर्फ सेमिफाइनलमा पुगेका छन्। सुरुआतबाट नै हाबी भएर खेलेका जोकोभिचले निसिकोरीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेका हुन्। विदेशी खेलाडीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएका निसिकोरीले खेलमा फर्कन निकै प्रयास गरेका थिए। तर उनको प्रयास विश्व नम्बर एकका अगाडि सफल हुन सकेन। निसिकोरीले आफू राम्रो खेल्दाखेल्दै पनि अनुभवी खेलाडीसँग पराजित हुन पुगेको प्रतिक्रिया दिए।  

‘जोकोभिचले रक्षात्मक हुँदै अनुभवी खेल देखाए। म पनि उनीसँगै खेल्ने प्रयास गरें तर पनि सफल हुन सकिनँ,’ निसिकोरीले भने, ‘म राम्रो खेलिरहेको छु जस्तो भान भएको थियो। आजको दिनमा मेरो सर्भिस राम्रो लागेन। उनले भने सर्भिसमा आक्रामक खेल देखाए।’जितसँगै जोकोभिच पदक चरणमा प्रवेश गरेका हुन्। विश्व नम्बर एक जोकोभिचले अहिलेसम्म कुनै पनि ओलम्पिकमा स्वर्ण पदक जितेका छैनन्। यसअघि २००८ मा रजत पदक जितेका थिए। अब जोकोभिजले फाइनल प्रवेशका लागि एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्। बिहीबारको खेलमा जेभेरेभले जोरेमी चार्डीलाई ६–४ र ६–१ सेटमा पराजित गर्दै जोकोभिचसँगको भेट पक्का गरेका थिए। जितपछि जोकोभिचले ओलम्पिकमा आफ्नो खेल सुधारिएको बताए।  

‘जितबाट म निकै खुसी छु। ओलम्पिकमा मेरो यो खेल राम्रो रह्यो,’ विश्व नम्बर एक जोकोभिचले भने, ‘उपाधिनजिक पुग्दै गर्दा प्रतिस्पर्धा कठिन हुँदै छ। यससँगै ओलम्पिकमा मेरो खेल सुधार हुँदै छ। मैले उपाधिका लागि अझै मिहिनेत र सुधार गर्नुपर्ने ठाउँ प्रशस्त छन्।’ ३४ वर्षीय सर्बियन खेलाडी जोकोभिचले यसअघि अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन ओपन उपाधि पनि उचालिसकेका छन्। यसअघि मध्य गर्मीमा खेल आयोजना गर्नु उचित वातावरण नभएको भन्दै आलोचना गरेका जोकोभिचले बिहीबारको खेल भने साँझ ५ बजे खेलेका थिए। उक्त समय राम्रो भएको प्रतिक्रिया दिएका छन्। प्रतियोगितामा शुक्रबार पुरुषतर्फ सेमिफाइनल खेल हुनेछन्।  

टेनिसअन्तर्गत बिहीबार महिलातर्फको खेलमा भने मर्केटा भान्ड्रोसोभा फाइनलमा प्रवेश गरेकी छिन्। युक्रेनकी एलिना सोभिटोलिनालाई सोझो सेटमा हराउँदै उनी उपाधिनजिक पुगेकी हुन्। यससँगै शीर्ष वरीयताकी सोभिटोलिना पनि प्रतियोगिताबाट बाहिरिएकी हुन्। यसअघि जापानकी नाओमी ओसाका चौथो चरणको खेलबाट बाहिरिनुपरेको थियो। भान्ड्रोसोभाले फाइनलमा स्थान बनाउँदा सोभिटोलिनालाई ६–३, ६–१ ले स्तब्ध पारिन्। २०१९ की फ्रेन्च ओपन उपविजेता भान्ड्रोसोभाले अब उपाधिका लागि स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिससँग प्रतिस्पर्धा गर्नेछिन्। बेन्सिसले बिहीबार भएको सेमिफाइनल प्रतिस्पर्धामा एलिना रबाकिनालाई ७–६(७–२), ४–६ र ६–३ को सेटमा पराजित गरेकी थिइन्। सोभिटोलिनाले पदक जिते युक्रेनका लागि महिलातर्फ टेनिसमा पहिलो पदक हुनेछ। 

प्रकाशित: १५ श्रावण २०७८ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App