१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गौरिकाको औसत प्रदर्शन

जारी टोकियो ओलम्पिकमा नेपालबाट चौथो खेलाडीको चुनौती पनि समाप्त हुँदा पौडीकी गौरिका सिंह प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्।

टोकियो एक्वाटिक्स सेन्टरमा बुधबार भएको सय मिटर फ्रिस्टाइलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की चार स्वर्ण विजेता गौरिका औसत प्रदर्शन गर्दै टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी हुन। गौरिका १ मिनेट ००.११ सेकेन्ड समय निकाल्दै चार खेलाडी समावेश हिट चरणमा तेस्रो भइन्। उनको त्यो समय दोस्रो चरणका (सेमिफाइनल) लागि पर्याप्त भएन। कुल ५१ जना सहभागी उक्त विधामा गौरिका ५०औं स्थानमा रहिन्। उनले आफ्नै हिटमा रहेकी ग्वामकी खेलाडी मिनेरी गोमेजलाई मात्र पछि पारिन्। हिटको पहिलो ५० मिटरमा राम्रो अग्रता बनाए पनि गौरिकाले त्यो लयलाई अन्तिम समयसम्म काय राख्न सकिनन्।  

बुधबार हिटमा नै अस्ट्रेलियाकी इम्मा म्याककिओनले ५२.१३ को समय निकाल्दै ओलम्पिकमा नयाँ रेकर्ड कायम गरिन्। यसै विधामा स्विडेनकी साराह सोस्ट्रोमको नाममा ५१.७१ को विश्व कीर्तिमान छ । यद्यपि, ओलम्पिकमा मध्यम प्रदर्शन गरे पनि गौरिकाले आफ्नो व्यक्तिगत समय भने सुधार गरिन्। गोङझाउमा सम्पन्न १८औं फिना विश्व च्याम्पियनसिपको यो कोर्समा उनको १ मिनेट ००.६२ सेकेन्डको व्यक्तिगत उत्कृष्ट समय थियो।  

‘कीर्तिमान सुधार भएकाले खुसी छु। समय सुधारभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने मेरो लक्ष्य थियो, त्यहीअनुसार खेलेको थिएँ। कीर्तिमान पनि सुधार भएछ,’ खेलपछि गौरिकाले भनिन्, ‘लङ कोर्स (५० मिटरको कोर्स) मा ओलम्पिकअघि मात्रै केही दिन अभ्यास गरेकी थिएँ। त्यहाँ (तोकुसिमा) मेरो कोच पनि थिएन। त्यसलाई पनि टाइफुनले असर पारेको थियो । तैपनि यहाँ (टोकियो ओलम्पिक) रेकर्ड बन्यो। खुसी लागेको छ ।’ गौरिकाले आफ्नो नयाँ लक्ष्य केन्द्रित गरेर अगाडि बढ्ने बताइन्।  

‘अब म युनिभर्सिटी जाँदै छु। यहाँबाट ब्रिटेन फर्केपछि कुन विधालाई लक्षित गरेर अगाडि बढ्ने भन्ने निर्णय गर्नेछु,’ आगामी यात्राका बारे गौरिकाले भनिन्। नेपाली टोलीका प्रशिक्षक शंकर कार्कीले अपेक्षाकृत प्रदर्शन हुन नसकेको बताए।  

‘सोचेअनुरूप समय आउन सकेन। यद्यपि, उनले (गौरिका) आफ्नो व्यक्तिगत उत्कष्ट समय निकालिन्,’ प्रशिक्षक कार्कीले भने। गौरिकाले नेपालमा सम्पन्न १३औं सागको यसै विधामा स्वर्ण जित्ने क्रममा ५८.१३ सेकेन्डको समय निकालेकी थिइन्, २५ मिटरको कोर्स थियो। ओलम्पिकको लङ कोर्स (५० मिटरको) प्रतिस्पर्धामा उनले राम्रो समय निकाल्न सकिनन्। अब यस ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालको अन्तिम चुनौती एथलेटिक्सकी सरस्वती चौधरीले गर्नेछिन्। उनले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छिन्।

प्रकाशित: १४ श्रावण २०७८ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App