coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुबिधाले निदाउन सकिनँ : बाच

कोभिड १९ महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक २०२० शुक्रबार (जुलाई २३) बाट औपचारिक रूपमा सुरु हुँदै छ। प्रतियोगिता नजिकिँदै गर्दा ओलम्पिक भिलेजमा रहेका विभिन्न राष्ट्रका केही खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएसँगै प्रतियोगिता कसरी सञ्चालन हुन्छ भन्ने विषयमा चासो  बढेको छ।

यसैबीच कोभिड १९ महामारीका कारण टोकियो ओलम्पिक २०२० एक वर्ष पछि धकेलिई जापानी नागरिकको तीव्र असन्तुष्टिका बावजुद प्रतियोगिताको आयोजनालाई लिएर दुबिधा बढेकाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले धेरै रात निदाउन नसकेको खुलासा गरेका छन्।

मंगलबार टोकियोमा आइओसीको बैठकमा सम्बोधन गर्दै बाचले प्रतियोगिता एक वर्षपछि धकेलिँदा आफूमा दबाब बढेको र अहिले सो दबाब झन् तीव्र बनेको बताए।

टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी र पदाधिकारीको आगमन सुरु भइसकेको छ। यस क्रममा केही राष्ट्रका केही खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भैसकेको छ। टोकियोमा लगाइएको स्वास्थ्य संकटकाल अहिले पनि पूर्ण रूपमा हटिसेकेको छैन र त्यहाँका स्थानीयले समेत बारम्बार प्रतियोगिताको आयोजनाले कोभिड संक्रमण दर बढ्ने भन्दै विरोध गर्दै आएका छन्। त्यसैले शुक्रबार बिनादर्शक हुने टोकियो ओलम्पिक २०२० को उद्घाटन सत्र सोचेजस्तो सहज भने हुनेछैन।

‘विगत १५ महिना, हामीले टोकियो ओलम्पिक २०२० को आयोजनालाई लिएर धेरै निर्णय लिनुपर्‍यो। हामी सधै दुबिधामा हुन्थ्याैँ। हामीले धेरै छलफल गर्‍यौं। कयांै यस्ता रात थिए जहाँ, हामी निदाउन सकेनाैँ,’ बाचले भने, ‘ममाथि पनि एउटा दबाब सृजना भयो। तर पनि हामी प्रतियोगिताको आयोजनाको लक्ष्यबाट अलग हुन सकेनानाैँ। हामीमा प्रतियोगिता कुनै पनि हालतमा आयोजना गर्छौं भन्ने दृढ संकल्प थियो। त्यसैको परिणामस्वरूप हामी आज यो घडीमा आइपुगेका छांै। हामीले महामारीको चुनौतीसँग जुध्दै यहाँ धेरै विकल्पका बाटा पैल्याएका छौं ।’

बाचको जापान आगमन भने सुखद रहेन। उनको आगमनसँगै केही जापानी नागरिकले उनीविरुद्ध नारा लगाएका थिए। हालैका दिनमा जापानमा टोकियो ओलम्पिक २०२० को आयोजनालाई लिएर गरिएको सर्वेक्षणमा ५५ प्रतिशतले प्रतियोगिता रोक्नुपर्ने मत जाहेर गरेका थिए।  

हालसम्म ओलम्पिक भिलेजमा ५ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। त्यसैले ओलम्पिक भिलेजमा रहने अन्य खेलाडी, पदाधिकारी र सञ्चारकर्मीलाई कसरी सुरक्षित राख्दै प्रतियोगिताको सफल आयोजना गर्ने भन्ने चिन्ताले आइओसीका साथै जापान सरकार घेरिएका छन्।

टोकियो ओलम्पिकका सहभागी हुने खेलाडीमध्ये ८० प्रतिशतले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइसकेकाले प्रतियोगिताको आयोजनाबारे आफूहरू ढुक्क भएको आइओसी र जापानी अधिकारीहरूले दाबी गर्दै आएका छन्। ओलम्पिक भिलेजमा समेत खेलाडी तथा पदाधिकारीको दैनिक पिसिआर परीक्षण भइरहेको छ।

‘अन्ततः हामीले दुबिधाको कालो बादल हटाइसकेका छौं,’ बाचले भने, ‘प्रतियोगिता नै रद्द गर्नु हाम्रा लागि कहिले पनि विकल्प बनेन। सबैको साझा संकल्पमा हामी टोकियो ओलम्पिक २०२० को सफल आयोजनाको संघारमा आइसकेका छाैँ।’

प्रकाशित: ६ श्रावण २०७८ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App