१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खस्कँदो साख फर्काउने लक्ष्य

आफ्ना सुपर स्टार सन याङबिना टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउन लागेको चीन, ओलम्पिकमा खस्कँदो साख फर्काउने लक्ष्यमा छ। सन् २००८ को बेइजिङ ओलम्पिकमा मेडल तालिकाको शीर्ष स्थानमा बसेको चीन सन् २०१६ को रियो ओलम्पिकमा तेस्रो स्थानमा बसेको थियो। २६ स्वर्ण पदकसहित तेस्रो स्थानमा बसेको यो नतिजा चीनको ओलम्पिक इतिहासमै सबैभन्दा खराब थियो।

सन् २०१६ को रियो ओलम्पिक समापनपछि त्यहाँको सरकारी समाचार संस्था सिन्ह्वाले ‘चीनका खेलाडीले रियो ओलम्पिकमा उल्लेख्य स्वर्ण जित्न सकेनन्, ओलम्पिक इतिहासकै खराब नतिजा’ भन्दै ट्विट गरेको थियो।

कोभिड १९ महामारीका कारण टोकियो ओलम्पिक निर्धारित मितिभन्दा एक वर्षपछि सुरु हँुदेै छ, जहाँ खेलाडी र व्यवस्थापक गरी चीनबाट सर्वाधिक ७ सय ७७ जनाले सहभागिता जनाउँदै छन्। तर चीनले रियो ओलम्पिकमा भोगेको नमीठो पराजयलाई बिर्सन यस पटक आफ्ना शीर्ष खेलाडीबिना सहभागिता जनाउनुपर्नेछ। विवादास्पद छवि बनाएका पौडीबाज सनले एकै ओलम्पिकमा तेहेरो स्वर्ण जितेका थिए। डोपिङमा मुछिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले उनीमाथि ४ वर्षको प्रतिबन्ध लगाएको थियो।

यस पटक टोकियो ओलम्पिकमा सहभागिता जनाउने चिनियाँ खेलाडीमा नाम चलेका बिरलै छन्। तर पनि चीन विगतमा झँै डाइभिङ, टेबल टेनिस र भरोत्तोलनतर्फ स्वर्णमा वर्चस्व कायम राख्न चाहन्छ। चीनका सञ्चारमाध्यमले पनि आफ्नो डाइभिङ टोलीले निर्धारित ८ विधामै स्वर्ण जित्न सक्षम भएको दाबी गर्दै आएको छ। साथै चीनका स्टार स्पाइकर ज्यु थिङको साथमा महिला भलिबल र झाङ युफईको उपस्थितिमा पौडीमा पनि स्वर्णको आशा छ।

चीनका लागि ओलम्पिकमा जित्ने मेडल सधैं गौरवको विषय बन्दै आएको छ तर चीन र जापान ऐतिहासिक चिर प्रतिद्वन्द्वी भएकाले पनि यस पटक टोकियो ओलम्पिक २०२० मा जितेको स्वर्णले चीनका लागि विशेष अर्थ राख्नेछ। कोभिड १९ महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० कसरी सफल आयोजाना हुन्छ भन्ने सबैको चासोको विषय बन्दै आएको छ। यसप्रति चीनले सबैभन्दा बढी चासो राखेको छ, किनभने चीनले ६ महिनापछि विन्टर ओलम्पिकको आयोजना गर्दै छ। कठिन परिस्थितिमा जापानले कुन तरिकाले टोकियो ओलम्पिक २०२० को आयोजना गर्नेछ, ती सबै पक्ष चीनका लागि उपयोगी हुनेछन्।

प्रकाशित: ३ श्रावण २०७८ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App