१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

मेसीलाई खुसीको आँसु बर्साउने अवसर

अन्ततः लामो समयको प्रतीक्षापछि अर्जेन्टिनाले आइतबार बिहान लियोनल मेसीलाई खुसीको आँसु बर्साउने अवसर दिएको छ। विश्व फुटबल प्रतियोगिताका चार फाइनल गुमाउनु र ठूला प्रतियोगितामा छिट्टै बहिर्गमनका साथै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा विश्वका सर्वोत्कृष्ट स्टार मेसीले भोगेका घटना हुन्।  

जसले उनको सर्वोत्कृष्ट मानमा पनि प्रश्नचिह्न खडा भइरहन्थे। तर, आइतबार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले माराकाना स्टेडियममा घरेलु टोली ब्राजिललाई १–० ले स्तब्ध बनाउँदै विश्व स्टारलाई खुसीको आँसु झार्ने अवसर दिएको छ। ब्राजिलमाथिको जितसँगै अर्जेन्टिनाले २८ वर्षदेखि उपाधिको खडेरीमा समेत पूर्णविराम लगायो। करियरकै ठूलो सफलतासँगै मेसी यस संस्करणको उत्कृष्ट खेलाडी पनि घोषित भए, जहाँ उनले चार गोल र पाँच असिस्ट गरे। यसै प्रतियोगितामा उनी अर्जेन्टिनाका लागि सर्वाधिक १ सय ५१ क्याप जित्ने खेलाडीसमेत बने।  

‘देशका लागि केही सफलता प्राप्त गर्न म आफैँले ती बाधा हटाउन जरुरत थियो,’ जितपछि उत्सव मनाउने क्रममा मेसीले भने। उरुग्वेका रेफ्री इस्टेबन ओस्तोजिचले अन्तिम सिटी फुकेसँगै मेसी मैदानमा घुँडा टेके र आफ्नो हातले अनुहार छोपेर केही समय भावुक भए। लगत्तै उनका सहकर्मी दौडिएर उनलाई अंकमाल गर्न आइपुगे। त्यस दृश्यमा विश्व फुटबल जगत्ले नै मेसीप्रति सद्भाव प्रकट गरेको थियो। विश्वकप र कोपा अमेरिकाको फाइनलमा लगातार तीन वर्ष हारपछि आजित बनेका मेसीले सन् २०१६ को कोपा अमेरिकाको फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यास लिएका थिए।

तर, अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्री र अन्य कयौं फुटबल लिजेन्डको आग्रहपछि मेसीले आफ्नो निर्णयमा पुनर्विचार गरे। आज त्यो निर्णय उनको करियरमा रहेको देशका लागि असफलताको दाग मेटाउन सफल भएको छ। कोपा अमेरिकाको उपाधि उचालेपछि मेसीले मैदानबाटै परिवारसँगै फोनमामार्फत कुराकानी गरेका थिए। घाँटीमा रहेको स्वर्ण पदक हल्लाउँदै उनी कराउन थाले ‘आइ वान, आइ वान’ अर्थात् मैले जितें। त्यसैबाटै स्पष्ट हुन्छ उनी यो क्षणका लागि कति प्रतीक्षारत थिए।

यो युगको यिनै महान् खेलाडी मेसीका लागि आगामी लक्ष्य अर्को वर्ष हुने कतार विश्वकप हुनेछ, जुन सन् १९८६ मा म्यारोडोनाको प्रेरणामा अर्जेन्टिनाले जितेपछि मेसीको टोली असफल रहँदै आएको छ। सिनियर टोलीमा कुनै पनि उपाधि नजिते पनि उमेरसमूहबाट भने मेसीले केही सफलता राष्ट्रलाई दिलाइसकेका छन्। 

उनले सन् २००५ मा यु–२० विश्वकप र सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। सिनियर टोलीमा भने लामो समयदेखि उनले निराशा सामना गर्नुपर्‍यो। सन् २००६ को विश्वकपमा जर्मनीसँग क्वार्टरफाइनलमा हार बेहोर्नु मेसीका लागि पहिलो असफलता रह्यो। त्यसको एक वर्षपछि नै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा ब्राजिलसँग हार बेहोर्‍यो।

सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिनालाई उपाधि दिलाउन मेसीसँग अवसर थियो। तर, यसै माराकाना स्टेडियममा भएको फाइनलमा उनको टोली जर्मनसँग १–० ले स्तब्ध हुन पुग्यो। फेरि, पनि मेसीलाई असफलताले साथ छोडेन। त्यो विश्वकपमा मेसी उत्कृष्ट खेलाडी चयन भए पनि क्लबको जस्तो प्रभावशाली प्रदर्शन गर्न नसकेको उनीमाथि आरोप लाग्यो। त्यसपछि पनि मेसीले लगातार सन् २०१५ र ०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई उपाधि दिलाउन सकेनन्। दुवै फाइनलमा उनको टोली पेनाल्टीमा चुक्यो र आलोचनाले घेरिएका मेसी संन्यासको निर्णय लिन बाध्य भए।

दोस्रो हारसँगै मेसीले पत्रकारलाई राष्ट्रिय टोलीका लागि उनको यात्रा सकिएको बताए, जुन विश्व जगतलाई स्तब्ध बनाउने निर्ण थियो। तर, दक्षिण अमेरिकन विश्वकप छनोट चरणमार्फत उनी पुनः राष्ट्रिय टोलीमा फर्किए, जहाँ अर्जेन्टिनाले निकै संघर्ष गरिरहेको थियो। उनले अर्जेन्टिनालाई रसिया विश्वकपसम्म पुर्‍याए। तथापि, अन्तिम १६ मा अर्जेन्टिना फ्रान्ससँग स्तब्ध हुन पुग्यो। सन् २०१९ को कोपा अमेरिका पनि मेसीका लागि असफलता नै रह्यो। जसको कारण अर्जेन्टिनी समर्थकले उनलाई युरोपेली खेलाडीको संज्ञा दिँदै आलोचना गर्थे। तर, थोरै मात्र प्रशिक्षण अनुभव भएका लियोनल स्कलोनीको प्रशिक्षणमा मेसीको टोलीले २३ वर्षको प्रतीक्षालाई पूरा गर्‍यो।

३४ वर्षे मेसीले आफ्नो सुसज्जित करियरमा रहेको कमीलाई मेटाउँदै कोपा अमेरिकाको ट्रफी चुमे। अर्जेन्टिनाको उपाधि यात्राका नायक गोलकिपर इमिलियानो मार्टिनेजले पनि कोपा अमेरिकाको उपाधि जित्न सबैभन्दा योग्य खेलाडी मेसी भएको प्रतिक्रिया दिए। पत्रकार सम्मेलनमा पनि मेसीले जितको खुसी वर्णन नै गर्न नसकिने प्रतिक्रिया दिएका थिए। ‘योभन्दा अगाडि म निकै दुखी थिएँ। तर, मलाई थाहा छ जीवनमा यस्तो भइरहन्छ,’ मेसीले भने, ‘तर भगवान्प्रति धन्यवाद छ। उनले यो क्षण ब्राजिलको भूमिमा मलाई उपलब्ध गराइदिए।’  

प्रकाशित: २८ असार २०७८ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App