टोकियो ओलम्पिक २०२० खेल्ने नेपाली पौडी टोली सोमबार जापान प्रस्थान गर्ने भएको छ। आगामी जुलाई २३ देखि सुरु हुने ओलम्पिकका लागि पौडीका एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार जापान प्रस्थान गर्ने भएको हो।
आइतबार नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित एक कार्यक्रमका बीच पौडीका खेलाडी एलेक्स शाह र प्रमुख प्रशिक्षक शंकर कार्कीलाई बिदाइ गरिएको थियो। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी शाह र प्रशिक्षक कार्कीलाई बिदाइ गरेका थिए। यसअघि सन् २०२० मा एनओसी र टोकुसिमा प्रान्तबीच भएको सम्झौताअनुरूप पौडीका खेलाडी टोकियो ओलम्पिक तयारीका लागि उक्त प्रान्तमा अभ्यास गर्नेछन्।
टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्सले सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै छन्। गौरिका भने इङ्ल्यान्डबाटै ओलम्पिक तयारीका लागि टोकुसिमा प्रान्त पुग्नेछिन्। सन् २०२० को जनवरीमा एनओसी र उक्त प्रान्तबीच ओलम्पिक तयारीका लागि नेपाली टोलीलाई पूर्वअभ्यासको वातावरण सिर्जना गर्ने सम्झौता भएको थियो। सोहीअनुरूप नेपाली खेलाडीले अभ्यास गर्ने अवसर पाएका हुन्। टोकुसिमामा अभ्यासपश्चात् दुई खेलाडी र प्रमुख प्रशिक्षक शंकर कार्कीको टोली आगामी जुलाई २० मा टोकियो ओलम्पिक भिलेज पुग्नेछ।
प्रकाशित: २१ असार २०७८ ०६:५८ सोमबार