३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

‘खेलतालिका र खेलस्थल ठट्टा’

वेल्सका रक्षक क्रिस गुन्टरले युरो कप २०२० को खेलतालिका र खेलस्थलको व्यवस्थालाई ‘ठट्टा’ को संज्ञा दिएका छन्। शनिबार डेनमार्कसँग ४–० ले निराश हुँदै युरो कपको अन्तिम १६ बाट बाहिरिएपछि गुन्टरले यस्तो प्रतिक्रिया दिएका हुन्। 

वेल्सले पहिलो दुई खेल अजरबैजानमा खेलको थियो। समूहचरणको अन्तिम खेलका लागि रोमको भ्रमण गरेको वेल्सले अन्तिम १६ का लागि आम्सटर्डमको भ्रमण गरेको थियो। ४ वटै खेलमा वेल्सका विपक्षी टोलीका उल्लेख्य मात्रामा समर्थक उपस्थित हुँदा वेल्सका भने सीमित दर्शक मात्र मैदानमा उपस्थित थिए।

‘कुनै पनि प्रतियोगिता खेल्न जाने राष्ट्रको सो प्रतियोगितामा समर्थक उपस्थित हुने गर्दछन्,’ गुन्टरले भने, ‘तर वेल्सका समर्थक भएनन्। ३ सय ५० समर्थक मात्र उपस्थित भए,त्यो पनि सरकारको मापदण्ड उल्लंघन गर्दै। प्रतियोगिता कुनै निश्चित राष्ट्रमा आयोजना भएको भए, वेल्स समर्थकको बाक्लो उपस्थिति हुने थियो। 

तर समूहचरणमै दुई राष्ट्र र नकआउट चरणका लागि अर्को राष्ट्रको भ्रमण गर्नुपरेकाले हाम्रा समर्थक मैदानमा उपस्थित हुन पाएनन्। यो खेलस्थलको व्यवस्था नै हास्यास्पद छ, एउटै प्रतियोगिता, निरन्तर एकपछि अर्को राष्ट्रको भ्रमण। यो निष्पक्ष भएन।’  

युइएफएले यस सिजन युरो कप आयोजनाको ६० वर्ष प्रवेश गरेको उपलक्ष्यमा विभिन्न ११ राष्ट्रका ११ सहरलाई युरो कप २०२० आयोजनाको अधिकार दिएको थियो। वेल्स भने आफ्नो घरेलु मैदानलाई प्रतियोगिताको ११ खेल स्थलमा समावेश गर्न असफल भएको थियो। वेल्स र स्विट्जरल्यान्डबीचको खेल मात्र तटस्थ दर्शकका माझ भएको थियो। 

टर्कीविरुद्धको खेलमा बाकुमा ३० हजार टर्किस समर्थकको उपस्थिति थियो भने इटालीविरुद्ध रोममा १५ हजार दर्शक उपस्थित थिए। शनिबारको अन्तिम १६ भिडन्तमा पनि डेनमार्कमा समर्थकले आम्सटर्डम भ्रमणको अनुमति पाएका थिए भने वेल्स समर्थकमाथि भ्रमणमा रोक लगाइएको थियो।

प्रकाशित: १४ असार २०७८ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App