१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एरिक्सनको शरीरमा आइसिडी राखिने

गत हप्ता युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघातका कारण अस्पताल भर्ना भएका डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सनको शरीरमा मुटुको गतिलाई नियमित गर्न हर्ट डिफाइब्रिलेटर लगाइने भएको छ।

फिनल्यान्डसँगको आफ्नो पहिलो खेलमा हृदयाघात भएका एरिक्सनको शरीरमा हर्ट डिफाइब्रिलेटर राखिने डेनिस फुटबल संघ (डिबियु) ले बिहीबार जनाएको हो। अहिले उनी सामान्य अवस्थामा रहे पनि कोपेनहेगनको अस्पतालमा उनको उपचार भइरहेको छ। 

‘एरिक्सनको मुटुको अलगअलग जाँच गरेपश्चात् उनको शरीरमा आइसिडी (हर्ट स्टार्टर) राख्ने निर्णय भएको हो। मुटुको चालको गडबडीपछि यो डिभाइस आवश्यक देखिएको छ,’ डेनिस फुटबल संघले ट्विटरमार्फत विज्ञप्ति जारी गरेको छ। फुटबल संघले २९ वर्षे इन्टर मिलानका खेलाडीको भविष्यबारे भने कुनै जानकारी दिएको छैन।

‘एरिक्सन पनि आइसिडी राख्नेबारे सहमत भए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञले पनि यसको प्रयोग गर्न सल्लाह दिएका थिए,’ डेनिस फुटबलले जनाएको छ। डच खेलाडी डेले ब्लाइन्डले पनि यो उपकरण प्रयोग गरेपश्चात् आफ्नो करियरलाई पुनः सुचारु गरेका थिए।

बेल्जियमसँगको खेलअगाडि मात्र एरिक्सनको थप मेडिकल प्रक्रियाबारे सार्वजनिक भएको हो। अस्पताल भर्ना भएपछि गत मंगलबार पहिलो पटक एरिक्सनले आफू ठीक रहेको बताएका थिए। उनले सामाजिक सन्जालमार्पmत आफू अहिले ठीक रहेको बताएका हुन्।

 ‘म अहिले ठीक छु। अस्पतालमा केही परीक्षणहरू पार गर्नुपर्ने भएता पनि मैले राम्रो महसुस गरिरहेको छु,’ बेडमा सुतेर सांकेतिक रूपमा आफू ठीक रहेको फोटो पोस्ट गर्दै एरिक्सनले लेखेका थिए। उनी पार्केनको नेसनल स्टेडियमबाट करिब पाँच किलोमिटर टाढा रहेको रिग्स अस्पतालमा छन्। डेनमार्कका प्रशिक्षक कास्पेर ह्युलमन्डले अस्पतालको झ्यालबाट एरिक्सनले स्टेडियमको खेल हेर्ने भन्दै आफ्नो खेलाडीलाई प्रोत्साहित गरेका थिए।  

प्रकाशित: ४ असार २०७८ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App