१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यासेडोनियामाथि युक्रेनको जित

डच टोलीलाई पहिलो खेलमा ३–२ को नतिजा सुम्पिएको युक्रेनले बिहीबार नर्थ म्यासेडोनियामाथि २–१ को जित निकाल्दै युरो कप–२०२० मा अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवन्त बनाएको छ। 

रोमानियाको नेसनल एरिनामा भएको खेलमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका थिए। सुरुआतबाट नै आक्रामक देखिएको युक्रेनले म्यासेडोनियामाथि दबाब दिएर खेलेको थियो। पहिलो हाफमा सहज खेल पस्किएको युक्रेनले दोस्रो हाफमा भने पहिलो हाफको प्रदर्शनलाई निरन्तरता दिन सकेन। 

पहिलो पटक युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाएको म्यासेडोनिया युक्रेनसँग पराजित हुँदा अघिल्लो चरणको यात्रा कठिन बनेको छ। यससँगै म्यासेडोनिया एक खेलअगावै अघिल्लो चरण प्रवेश गर्नबाट चुकेको छ।

रक्षात्मकजस्तो देखिएको म्यासेडोनियाविरुद्ध युक्रेनका लागि २९औं मिनेटमा कप्तान एन्ड्री यार्मोलेन्कोले गोल गर्दै टोलीको खाता खोलेका थिए। यससँगै यार्मोलेन्कोले करियरको ४२औं गोल पूरा गरेका छन्। युक्रेनका लागि सर्वाधिक गोल गरेका सेभचेन्कोभन्दा उनी मात्र ६ गोलले पछाडि छन्। रोमन यारेमचुकले ४२औं मिनेटमा गोल थप्दै युक्रेनको अग्रता दोब्बर पारेका थिए। 

त्यसपछि फरक रणनीतिका साथ दोस्रो हाफको खेलमा उत्रिएको म्यासेडोनियाले ५७औं मिनेटमा गोल गर्दै अग्रता छोट्यायो। म्यासेडोनियाका खेलाडीले पेनाल्टी क्षेत्रमा बल अगाडि बढाउने क्रममा युक्रेनका रक्षकले खराब ट्याकल गरेपछि म्यासेडोनियाले पेनाल्टी अवसर पाएको थियो। पेनाल्टी प्रहारमा आएका एजान अलोस्कीको प्रहार युक्रेनका गोलकिपरले रोके पनि रिबाउन्डमा गोल गर्दै अग्रता घटाउन सफल भएका हुन्। 

यस्तै खेलको ८४औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार म्यासेडोनियाका गोलकिपर स्टोलले उत्कृष्ट बचाउ गर्दै अग्रता लिने अवसर विफल पारेका थिए। त्यसपछिको बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। र युक्रेनले जारी प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो।  

समूह ‘सी’ मा रहेको युक्रेनले स्पष्ट तीन अंक जोडेर नकआउट चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ भने दोस्रो खेलमा पनि पराजित भएको म्यासेडोनियाको अघिल्लो चरण प्रवेश यात्रा कठिन भएको हो। म्यासेडोनिया पहिलो खेलमा अस्ट्रियासँग ३–१ ले पराजित भएको थियो। जित निकालेको युक्रेनले आगामी खेल अस्ट्रियासँग खेल्नेछ भने म्यासेडोनियाले नेदरल्यान्ड्सको सामना गर्नेछ। समान तीन अंक भएको समूहमा नेदरल्यान्ड्स शीर्ष स्थानमा अटाउँदा अस्ट्रिया दोस्रो स्थानमा छ।

प्रकाशित: ४ असार २०७८ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App