२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०ः एरिक्सनलाई सफलता सुम्पने चाहना

मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेको घटनाले छायामा परेको पहिलो खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको डेनमार्कले बिहीबार घरेलु मैदानमा बेल्जियमको सामना गर्दै छ। डेनमार्क अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका एरिक्सनलाई युरो कपको सफलता सुम्पन चाहन्छ।  

यता बेल्जियमले भने समूह ‘बी’ को पहिलो खेलमा रूसमाथि ३–० को सहज जितका साथ उत्कृष्ट सुरुआत गरेको थियो। सो खेलमा गोल गरेपछि बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले सो गोल आफ्ना क्लब टिम सहयात्री एरिक्सनलाई समर्पण गरेका थिए।  

दोस्रो खेलमा पनि जितलयका साथ बेल्जियम शीर्ष स्थानमा बस्दै अन्तिम १६ प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ। डेनमार्क समूहचरणमा बाँकी रहेका दुई खेल जित्न मात्र चाहँदैन, प्रतियोगिताको उपाधि जित्दै सो सफलता एरिक्सनसँग बाँड्न चाहन्छ। ‘पहिलो खेल गुमाए पनि हामीसँग अझै दुई खेल बाँकी छ र हामी प्रतियोगितामै छाैं,’ डेनमार्कका गोलकिपर कास्पर स्माइकलले भने, ‘अब हामीले प्रतियोगिता जित्दै अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका एरिक्सनप्रति समर्पण गर्न चाहन्छाैं। हामी एरिक्सनबिना मैदान उत्रँदै छाैं। टोलीको महत्वपूर्ण सदस्य मैदानबाहिर रहँदा दुःखी छौं तर टोलीमा एकताको कमी छैन। यो नै टोलीको मुख्य हतियार हो।’ यता रूसविरुद्धको खेलमा चोटका कारण अनुपस्थित रहेका केभिन डी ब्रुयना र एक्सेल विट्सेल डेनमार्कविरुद्धको खेलमा मैदान फर्कने सम्भावना छ।  

बेल्जियमले सन् २०१९ मा सम्पन्न नेसन्स लिगको दुवै लेगमा डेनमार्कलाई निराश पारेको थियो। सन् १९८४ को युरो कपपछि बेल्जियम र डेनमार्क मुख्य प्रतियोगितामा आमनेसामने हुन लागेको यो पहिलो पटक हो, जहाँ डेनमार्कले उत्कृष्ट पुनरागमनमा ३–२ ले बाजी मारेको थियो।

युक्रेनविरुद्ध नर्थ मेसेडोनिया  

युक्रेन र नर्थ मेसेडोनियाले युरो कप २०२० को आफ्नो पहिलो खेल गुमाएका थिए। त्यसैले बिहीबार आमनेसामने हुँदा दुवै टोली जितका साथ नकआउट चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्। हार वा बराबरीको नतिजाले दुवै टोलीको युरो कप यात्रा समूहचरणमै सीमित बन्न सक्छ। अस्ट्रिया र नेदरल्यान्ड्सको समान ३ अंक छ भने युक्रेन र नर्थ मेसेडोनिया अंकविहीन छन्।

नेदरल्यान्ड्सविरुद्ध २–० ले पछि परेको अवस्थामा खेल बराबरीमा ल्याए पनि अन्तिममा युक्रेन ३–२ को नतिजा सुम्पिन बाध्य भएको थियो। नर्थ मेसेडोनियाविरुद्धको जितले युक्रेनको अन्तिम १६ प्रवेश सम्भावना जीवित राख्नेछ। नेदरल्यान्ड्सविरुद्ध खेलअवधिभर दबाबमा रहेर खेलेको युक्रेनले नर्थ मेसेडोनियाविरुद्ध भने ५–३–२ को रणनीतिमा उत्रने अनुमान गरिएको छ। नर्थ मेसेडोनिया र युक्रेन ४ पटक आमने सामने भएका छन्। जसमध्ये तीन खेल युक्रेनको पक्षमा र एक खेल नर्थ मेसेडोनियाको पक्षमा छ। पछिल्लो पटक यी दुई टोली सन् २०१५ को युरोपियन छनोटमा आमनेसामने भएका थिए, जहाँ नर्थ मेसेडोनिया २–० ले विजयी भएको थियो।

नेदरल्यान्ड्सविरुद्ध अस्ट्रिया  

नेदरल्यान्ड्स र अस्ट्रियाले युरो कप २०२० मा विजयी सुरुआत गरेका थिए। दुवै टोली बिहीबार आमनेसामने हुँदा शतप्रतिशत नतिजाका साथ अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्। सात वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गरेको फ्रांक डी बोयरको टोलीले आफ्नो पुनरागमन फलदायी बनाउने क्रममा युक्रेनमाथि ३–२ को जित हात पारेको थियो।  

‘अस्ट्रिया उदाउँदो टोली हो,’ नेदरल्यान्ड्सका प्रशिक्षक डी बोयरले भने, ‘डेविड अल्बा र मार्कोे आर्टोनोभिच उत्कृष्ट खेलाडी हुन्। उनीहरूलाई रोक्न कठिन छ। उत्कृष्ट खेलाडीले भरिएको कठिन टोली। हामी उनीहरूको चुनौती पन्छाउँदै अन्तिम १६ प्रवेशको सम्भावना थप मजबुत पार्न चाहन्छाैं।  

यता अस्ट्रियाले पनि नर्थ मेसेडोनियाविरुद्ध हारको शृंखलामा पूर्णविराम लगाउँदै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो। दोस्रो खेलमा पनि स्पष्ट ३ अंकका साथ अस्ट्रिया नकआउट चरण प्रवेश सम्भावना बलियो पार्न चाहन्छ। ‘एउटा कुरा स्पष्ट छ,’ अस्ट्रियाका प्रशिक्षक फ्य्रांको फोडाले भने, ‘अन्तिम १६ प्रवेशका लागि हामीलाई अझै अंक आवश्यक छ। नेदरल्यान्ड्स बलियो टोली हो तर हाम्रो लक्ष्य जितयात्राको निरन्तरता हो।’

प्रकाशित: ३ असार २०७८ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App