६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

जोकोभिचलाई ऐतिहासिक सफलता

सर्बियन स्टार नोभाक जोकोभिचले चारै ग्रान्ड स्लाममा ठूलो सफलतासँगै ओलम्पिकको दाबेदारी प्रस्तुत गर्दै धेरै कुरा सम्भव रहेको प्रतिक्रिया दिएका छन्।  

विश्व नम्बर एक जोकोभिचले आइतबार स्टेफानोस सिटसिपासलाई हराउँदै करियरको दोस्रो फ्रेन्च ओपन र १९औं ग्रान्ड स्लाम उचालेका थिए। उनले फाइनलमा ग्रिसका प्रतिद्वन्द्वी स्टेफानोसलाई ६–७ (६–८), २–६, ६–३, ६–२ र ६–४ ले हराउँदै उक्त सफलता निकालेका हुन्। यससँगै जोकोभिच चारै ग्रान्ड स्लाम दुई पटक जित्ने तेस्रो खेलाडीसमेत भए। यसअघि सन् १९३७ मा डोन बज र रोड लाभेरले सन् १९६२ मा उक्त सफलता प्राप्त गरेका थिए। यो सफलतापश्चात् उनी ओलम्पिकमा स्वर्ण जित्दै ग्रान्ड स्लाममा स्वर्ण युग बनाउन चाहन्छन्।

सन् १९८८ मा स्टेफी ग्राफले चारै ग्रान्ड स्लाम र ओलम्पिक स्वर्ण पदक जितेकी थिइन्। तर, पुरुषमा भने कुनै पनि खेलाडीले त्यो सफलता पाउन सकेका छैनन्। ग्राफले त्यो समय सिओलमा ओलम्पिक स्वर्ण जितेकी थिइन्। जोकोभिचलाई भने टोकियोमा ओलम्पिक स्वर्ण जित्ने अवसर छ। ‘हाम्रो लक्ष्य आगामी ओलम्पिक र बाँकी ग्रान्ड स्लाम जित्ने पक्कै हुनेछ,’ जोकोभिचका प्रशिक्षक मरियन भाज्दाले भने, ‘यद्यपि, सहजै त्यो सम्भव भने छैन। एक एक गरी केन्द्रित हुनु जरुरी छ।’ मरियनले विम्बल्डन, ओलम्पिक र युएस ओपन महत्वपूर्ण लक्ष्य रहने बताएका छन्। गत फेब्रुअरीमा अस्ट्रेलियन ओपन जितेका जोकोभिचले ग्रान्ड स्लामको आधी सफलता पाइसकेका छन्। उनको आगामी लक्ष्य भनेको विम्बल्डन हुनेछ, जहाँ उनी डिफेन्डिङ च्याम्पियन पनि हुन्। त्यसपछि उनी ओलम्पिक र चौथो पटक युएस ओपन जित्ने अभियानमा हुनेछन्।

‘उनी अहिलेसम्म फिट र राम्रो लयमा पनि छन्। मेरो विचारमा उनीसँगै बाँकी ग्रान्ड स्लाम जित्ने क्षमता पनि छ,’ प्रशिक्षक मरियनले भने, ‘उनी विम्बल्डन र युएस ओपनमा सहजै खेल्न सक्ने भएकाले यो सफलता पाउने सम्भावना पनि छ।’ सन् २०१६ मा पनि उनी अस्ट्रेलियन र फ्रेन्च ओपन जित्दा यही सफलतानजिक थिए। तर, युएस ओपन र विम्बल्डन पराजित हुँदा ओलम्पिकमा पनि सफलता पाउन असफल भए। यस पटक १३औं पटक फ्रेन्च ओपन च्याम्पियन राफाइल नाडालजस्ता बलिया खेलाडीलाई स्तब्ध बनाएर सफलता चुमेका जोकोभिच निकै आत्मविश्वासी देखिएका छन्।

प्रकाशित: १ असार २०७८ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App