२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०ः डेनमार्कका खेलाडीको गुनासो

डेनमार्कका गोलकिपर कास्पर स्माइकल र स्ट्राइकर मार्टिन ब्रेथवेटले मिडफिल्डर क्रिस्टियन एरिक्सनको उपचार जारी रहँदा आफूहरूलाई खेल्न बाध्य पारिएको र त्यसप्रति दुखी भएको बताएका छन्।

युरो कपअन्तर्गत शनिबार फिनल्यान्डविरुद्ध ४२औं मिनेटको खेल चलिरहँदा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेका थिए। मैदानमै १५ मिनेटको प्राथमिक उपचारपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। त्यस बेलासम्म रेफ्रीले खेल स्थगन गरेका थिए। दुवै टोली र आयोजकबीच बाँकी रहेको खेल के गर्ने भन्नेबारे छलफल जारी थियो। करिब दुई घन्टापछि एरिक्सन होसमा आएको र उनको अवस्था स्थिर रहेको खबर आएपछि आयोजकले बाँकी रहेको पहिलो हाफ र ५ मिनेटको विश्रामपछि दोस्रो हाफ सञ्चालन गर्ने निर्णय गरेको थियो। ‘हामीलाई यस्तो स्थितिमा पारियो, जुन उपयुक्त थिएन,’ गोलकिपर स्माइकलले भने, ‘दुई विकल्प अघि सारियो– तत्काल खेल पूरा गर्ने अथवा आइतबार दिउँसो खेल्ने।’

लेस्टर सिटीका गोलकिपर स्माइकलले आफूहरूसँग भन्दा पनि सिनियर खेलाडी वा पदाधिकारीसँग यसबारे छलफल गर्नुपर्नेमा त्यसो नगरिएको गुनासो गरे। उनले खेलका बारे निर्णय गर्न कम्तीमा एक दिनको समय दिनुपर्नेमा त्यसो नगरिएको बताए। ‘जे भयो भयो र आशा छ, हामीले यसबाट धेरै पाठ सिकेका छांै,’ उनले भने, ‘एरिक्सन मृत्युको मुखबाट फर्किएका छन्। उनको जीवन फर्काउने चिकित्सकको टोलीप्रति आभारी छाैं।’ बार्सिलोनाका स्ट्राइकर ब्रेथवेटले पनि आफूहरू तेस्रो विकल्प अर्थात् केही सयमपछि मात्र फिनल्यान्डविरुद्धको खेल खेल्ने प्रस्तावको पर्खाइमा रहे पनि दुईवटा मात्र विकल्प दिइएको र आफूहरूको इच्छा नहुँदानहुँदै पनि मैदान उत्रनुपरेको बताए।

‘हाम्रो एउटै इच्छा थियो, यो खेल केही दिनका लागि पर धकेलियोस्,’ ब्रेथवेटले भने, ‘तर हामीलाई तत्कालै दुई विकल्पमध्ये एक रोज्न बाध्य पारियो।’ डेनिस फुटबल संघका सञ्चार निर्देशक जाकोब होयरले एरिक्सनको अवस्था स्थिर रहेको बताए। खेलाडीहरूले आइतबार एरिक्सनसँग भेटेका थिए। ‘एरिक्सनले बेल्जियमविरुद्ध बिहीबार हुने खेलमा केन्द्रित हुन आग्रह गरे,’ फिनल्यान्डविरुद्ध पेनाल्टीको अवसर खेर फालेका मिडफिल्डर पियरी इमाइल हजबर्गले भने।

प्रकाशित: १ असार २०७८ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App