१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जोर्डनविरुद्ध जितकै लक्ष्य

कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरणको खेलअन्तर्गत कुवेत भ्रमणमा रहेको नेपालले सोमबार जोर्डनविरुद्ध मैदान उत्रँदा निश्चित जितका साथ एसियाली कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ।  

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा ४ अवे र २ होम गेम गरी नेपालले हालसम्म दुई खेलमा मात्र जित हात पारेको छ। ती दुवै खेल चाइनिज ताइपेईविरुद्ध थिए। छनोट चरणको पहिलो लेगमा २–० को जित हात पारेको नेपालले दोस्रो चरणको खेलमा बिहीबार पनि चाइनिज ताइपेईविरुद्ध २–० कै जित हात पारेको थियो।

समूह ‘बी’ का ५ खेलमा शतप्रतिशत नतिजा निकालेको अस्ट्रेलिया १५ अंकका साथ शीर्ष स्थानमा छ भने ६ खेलमा १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ। ५ खेलमा समान १० अंक बटुलेको जोर्डन तेस्रो स्थानमा हुँदा ६ खेलमा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। ६ खेलमा जितविहीन चाइनिज ताइपेई अंकतालिकाको पुछारमा छ।

छनोट चरणका ८ समूहमध्ये चौथो स्थानमा रहने उत्कृष्ट ४ टोली एसियन कप २०२३ छनोटअन्तर्गत तेस्रो चरणमा प्रवेश गर्नेछन्। चौथो स्थानका अन्य ४ टोलीले भने एसियन कप २०२३ छनोटमा प्लेअफको अवसर पाउनेछन्।

यस्तोमा समूह ‘बी’ अन्तर्गत चौथो स्थानको नेपालले एसियन कप २०२३ को प्लेअफमा भने स्थान पक्का गरिसकेको छ।  

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सोमबार जोर्डनविरुद्ध मैदान उत्रँदा निश्चित जितका लागि खेल्दै एसियन कप २०२३ छनोटको तेस्रो चरण प्रवेश सम्भावना जीवित राख्न चाहेको बताए। ‘हामीलाई धेरैले प्रतियोगिताको अन्डर डगका पमा हेरेका छन्,’ अल्मुताइरीले भने, ‘उनीहरूले हामीले जोर्डनविरुद्ध जित्नै नसक्ने दाबी गरिरहेका छन् तर सबै गोल ०–० बाट सुरु हुन्छ। कुन टोलीले जित्छ भन्ने कुरा मैदाानमा टोलीले गर्ने प्रदर्शनमा निर्भर हुन्छ।’ ‘जोर्डनविरुद्ध निश्चित जितका लागि खेल्नेछौं। हाम्रो लक्ष्य एसियन कप २०२३ छनोटको तेस्रो चरणमा प्रवेश गर्नु हो,’ अल्मुताइरीले अगाडि भने, ‘हामीले बिहीबार चाइनिज ताइपेईविरुद्धको खेलका लागि जति तयारी गरेका थियांै, जोर्डनविरुद्धको खेलका लागि पनि त्यति नै तयारी गरेका छौं। नेपालले इराक र ताइपेईविरुद्ध जुन प्रदर्शन ग¥यो, त्यसबाट म भन्छु कि हाम्रो खेल्ने शैलीमा धेरै परिवर्तन आइसक्यो।’

चौथो स्थानमा बस्दै समूहचरणको अन्त्य गर्ने उत्कृष्ट ४ टोलीले पनि एसियन कपको छनोट चरणमा स्थान पक्का गर्ने भएकाले नेपालको लक्ष्य जोर्डनविरुद्ध जितका साथ चौथो स्थानको टोलीमध्ये उत्कृष्ट ४ मा पर्ने रहेको छ।

समूह ‘ए’ मा माल्दिभ्स ६ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ। समूह ‘सी’ मा हङकङ ६ खेलमा ५ अंक, समूह ‘डी’ मा सिंगापुर ६ खेलमा ७ अंक, समूह ‘ई’ मा भारत ६ खेलमा ३ अंक, समूह ‘एफ’ मा म्यानमार ६ खेलमा ६ अंक र समूह ‘जी’ मा मलेसिया ६ खेलमा ९ अंकका साथ चौथो स्थानमा छन्। समूह ‘एच’ को चौथो स्थानमा रहेको श्रीलंकाले भने ६ खेलको समाप्तिसम्म पनि अंक खाता खोल्न सकेको छैन।

नेपाल र जोर्डन हालसम्म तीन पटक आमनेसामने भएका छन्। त्यसमध्ये दुई खेलमा जोर्डनले बाजी मारेको छ भने एक खेल बराबरीमा सकिएको थियो।

सन् २०१४ को ब्राजिल विश्वकप छनोटको पहिलो लेगमा जोर्डनको घरेलु मैदानमा ९–० को नतिजा सुम्पिएको नेपालले घरेलु मैदान दशरथ रंगशालामा भएको दोस्रो लेगमा भने जोर्डनलाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो। सन् २०२२ को कतार विश्वकपको छनोट खेलको पहिलो लेगमा नेपालले जोर्डनको घरेलु मैदानमा ३–० को हार व्यहोरेको थियो।

‘सबैले नेपालविरुद्धको खेलका लागि हामीलाई अब्बल ठानेका छन्,’ जोर्डनका प्रशिक्षक भिटाल ब्रोकेल्सम्यान्सले भने, ‘तर यो फुटबल हो र यहाँ जे पनि सम्भव छ। मैले नेपालले इराक र चाइनिज ताइपेईविरुद्धको खेल हेरेको थिएँ। उनीहरूको क्षमता र खेलशैलीमा व्यापक परिवर्तन आइसकेको छ।’

प्रकाशित: २४ जेष्ठ २०७८ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App