१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीमा स्थान बनाउँदा भावुक

‘म भावुक मान्छे हुँ। मेरो जीवनमा जे भयो तपाईले थाहा पाउनुभयो भने तपाई पनि भावुक बन्नुहुनेछ।’

डेक्लेन गालाहर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउँदा आफ्नी श्रीमती निक्कीको हर्षको आँसु र कान्छी छोरी सेको बोली सम्झन्छन्। सर्बियामा युरो २०२० टिकट पक्का गरेपछि ड्रेसिङ रुममा बस्दा आफ्ना बुबाले पठाएको भावुक सन्देश पनि उनी सम्झन्छन्, जुन शब्दमा वर्णन गर्न उनी सक्दैनन्।

युरो २०२० का लागि स्कटल्यान्डको राष्ट्रिय टोलीमा स्थान बनाउनुअघि गालाहरले निकै कठिन दिन पार गर्नुपर्‍यो। उनका लागि स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्नु असम्भवजस्तै बनिसकेको थियो। तर उनले आफूलाई प्रमाणित गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने सपना साकार पारे। त्यो कठिन क्षणबाट उनले छुटकारा पाएका छन्।

सेल्टिकको यु १९ टोलीमा प्रशिक्षण अवसर पाएका गालाहरले क्लबको पहिलो रोजाइका खेलाडीसँगै अभ्यास गर्दथे। सन् २०१० मा सेल्टिकले स्कटिस कपको उपाधि जित्दा उनी टोलीका सदस्य थिए। उनी सेल्टिकबाट सन् २०१३ मास्र्टानरमा लोनमा गएका थिए। तर उनले त्यहाँ पहिलो रोजाइबाट खेल्ने अवसर नै पाएनन्। सन् २०१४ मा उनलाई लिभिङ्स्टोनले स्कटिस प्रिमियर लिगका लागि टोलीमा अनुबन्धित गर्‍यो। तर क्लबमा अनुबन्धित भएको एक सिजनपछि नै आपराधिक घटनामा दोषी पाइएपछि गालाहरमाथि तीन वर्षको जेल सजाय सुनाइयो। 

सन् २०१३ मा एक विवाह समारोहमा भएको वादविवादका क्रममा हातपात हुँदा ७ जना गम्भीर घाइते भएका थिए भने होटलमा पनि व्यापक क्षति भएको थियो। सन् २०१५ मा उनी केही महिना जेल बसी धरौटीमा छुटेका थिए। लिभिङ्स्टोनबाट सन् २०१५–२०१६ सिजनका केही खेल पनि खेले तर पुनरावेदन अदालतले गालाहरको अपिल खारेज गर्दै उनलाई पुनः जेल पठाउन आदेश दिएको थियो। सन् २०१८ मा जेलबाट रिहा भएलगत्तै लिभिङ्स्टोनले उनलाई पुनः टोलीमा अनुबन्धन गरेको थियो।

तीन वर्षको जेल सजायपछि गालाहारले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने सपनामा पूर्णविराम लाग्यो भन्ने सोच्न थालिसकेका थिए।

सन् २०१९ अक्टोबर ६ मा उनी पहिलो पटक स्कटल्यान्डको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए। तर उनले टोलीमा समावेश भए पनि युरो २०२० को छानेट अन्तर्गत रुस र सानमारियोविरुद्धको खेलमा अवसर पाएनन्। सोही महिनाको अन्त्यमा भएको साइप्रसविरुद्ध २–१ को जित हात पारेको खेलमा गालाहरले स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेल्दै आफ्नो सपना साकार पारेका थिए। सन् २०१३ को घटनाको ८ वर्ष बितिसकेको छ र गालाहरसँग आफ्नो क्षमता प्रमाणित गर्ने अर्को अवसर आएको छ, युरो कप २०२०।

‘मेरा लागि त्यो कालो दिन थियो,’ गालाहरले भने, ‘मैले यस्तो घटनामा मुछिन्छु भनेर कल्पनासमेत गरेको थिइनँ। आवेगले मेरो जीवनको स्वर्णिम समय खेर गयो। तर मैले आफूलाई प्रमाणित गर्ने दोस्रो अवसर पाएको छु ,जसलाई म खेर जान दिन चाहन्नँ। म मेरो लक्ष्यनजिक छु। परिवार र टोलीले मप्रति गरेको विश्वासका लागि सधैं आभारी छु।

समूह ‘डी’ मा रहेको स्कटल्यान्डले जुन १४ मा चेक रिपब्लिकविरुद्ध खेल्दै युरो २०२० मा आफ्नो यात्राको थालनी गर्नेछ। स्कटल्यान्डले जुन १९ मा इङ्ल्यान्ड र जुन २३ मा क्रोएसियाको सामना गर्नेछ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App