coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रोकिएन बहिष्कार विवाद

जारी फ्रेन्च ओपनको खेलदौरान पत्रकार सम्मेलन बहिष्कार गरेका कारण विवादित बनिरहेकी नाओमी ओसाका र उनी निकटले समाधानको संकेत गरेका छैनन्।

यो घटनाले शक्ति संघर्षको प्रयास पनि भइरहेको भन्ने आशंका उत्पन्न भएको छ। प्रतियोगिताको नियमभित्र नै रहेको पत्रकार सम्मेलन बहिष्कार गरेका कारण ओसाकाले १५ हजार अमेरिकी डलर जरिवाना बेहोरिसकेकी छन्। आइतबार सम्पन्न पहिलो चरणको खेलमा उनले पत्रकार सम्मेलन बहिष्कार गरेकी थिइन्। 

चार ग्रान्ड स्लाम जितिसकेकी ओसाकाको यो गतिविधिले उनलाई भविष्यमा ग्रान्ड स्लाममै प्रतिबन्ध लाग्न पनि सक्नेछ। यदि उनले फेरि पनि उक्त घटना दोहोर्‍याएमा फ्रेन्च, अस्ट्रेलियन, युएस ओपनका साथै विम्बल्डन पनि प्रतिबन्धको सामना गर्नुपर्नेछ। यसले उनको करियरमै ठूलो धक्का लाग्नेछ।  

तथापि, २३ वर्षे ओसाकाले पत्रकार सम्मेलनले आफूमा मानसिक दबाब परिरहेको स्पष्टीकरण दिएकी छन्, जसले उनी शक्ति संघर्षको प्रयासमा छैनन् भन्ने पनि संकेत गरेको छ। ‘मेरो निर्णयले कोही रिसाउँछ भने त्यो बुझाइको कमी हो। कुनै पनि किसिमका परिवर्तन मानिसहरूका लागि असहज नै बन्ने गर्दछ,’ उनले ट्विटमा उल्लेख गरेकी छन्। 

ओसाकाकै बेल्जियन प्रशिक्षक विम फिसिट्टेले पनि आफ्ना खेलाडीको मौलिक मुद्दाबारे चिन्तित रहेको र उनले परिवर्तन ल्याउन चाहेको बताएका छन्। ‘आफ्ना समस्या समाधान गर्न उनलाई अवसर थियो र उनी त्यही गर्ने प्रयासमा थिइन्,’ फिसिट्टेले भने, ‘पत्रकारसँगको प्रतिक्रियाबारे खेलाडी स्वतन्त्र नै हुनुपर्छ। यदि खेलाडीले असहज महसुस गरे पनि उनीहरूलाई चेतावनी दिनु हुँदैन।’  

ओसाकाले आगामी बुधबार आफ्नो दोस्रो चरणको खेलपश्चात् उनको प्रतिक्रिया कस्तो रहन्छ भन्ने स्पष्ट नै हुनेछ। ओसाकाकी दिदी मारीले हरेक पत्रकार सम्मेलनमा क्ले कोर्टमा नाओमीको खराब रेकर्डबारे प्रश्न उठ्ने गरेकाले समस्या उत्पन्न भएको बताइन्। 

‘जब उनी रोममा पराजित भइन्। त्यसपछि उनी मानसिक रूपमा दबाबमा थिइन्। क्ले कोर्टमा पनि उनको खराब रेकर्ड छ। हरेकले त्यही पक्ष दोहोर्‍याउने र उनीमाथि थप दबाब पर्ने उनको बुझाइ थियो,’ मारीले प्रस्ट्याएकी छन्। मारीको यो भनाइलगत्तै उनले निकै आलोचना सामना गर्नुपरेको थियो।  

त्यसपछि मारीले अर्को प्रतिक्रिया दिँदै भनेकी छिन्, ‘नाओमीले धेरै खराब व्यवहारसँग लड्नुपर्ने रहेछ भन्ने मलाई जानकारी दिइन्। साथै उनले आफ्नो मानसिक स्वास्थ्यबारे पनि संघर्ष गर्नुपर्नेछ,’ मारीले भनेकी छन्, ‘अहिले मानिसहरू नाओमीले आलोचना सहन नसक्ने भन्दै प्रतिक्रिया दिइरहेका छन्। 

मलाई माफ गर नाओमी, मैले झन् तिम्रा लागि खराब अवस्था सिर्जना गरें।’ यसबीच अमेरिकी टेनिसका लिजेन्ड बिल्ली जिनले खेलमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको उल्लेख गर्दै केही सीमाबारे पनि सम्मान गर्न आग्रह गरेका छन्।  

नाओमी ओसाकाको सीधै आलोचना गर्दै फ्रेन्च ओपनको आधिकारिक वेबसाइटले पनि राफाइल नाडल, केई निसिकोरी, आर्यना साबालेन्का र कोको गौफको मुस्कानसहितको तस्बिरमा उनीहरूले मात्र आफ्नो जिम्मेवारीबारे बुझ्न सक्ने क्याप्सन उल्लेख गरेको छ। 

डबल्सततर्फ पूर्वविश्व नम्बर एक रेने स्टुब्सले भने कुनै खेलाडीलाई आफू दोषी महसुस गराउनु र अपमानित गर्नुले टेनिसको विकास नहुने प्रतिक्रिया दिएका छन्। खेल क्षेत्रमा पत्रकार सम्मेलन बहिष्कार विवाद यो पहिलो पटक भने होइन। यसअघि अमेरिकन फुटबल स्टार मार्सन लिन्चले पनि यो गतिविधि गरेका थिए।

जसका कारण ठूलो जरिवाना सामना गरेपछि पत्रकार सम्मेलनमा सहभागी भए। तर, उनले कयौं प्रश्नको जबाफमा भनेका थिए,‘म यहाँ उपस्थित भएँ। यसैले अब जरिवाना बेहोर्नु पर्दैन।’ ग्रान्ड स्लाममा कयौं विश्व स्तरका खेलाडीलाई अनुशासनका कारबाही गर्दै प्रतियोगिताबाट अयोग्य घोषित गरिएका घटना छन्। गत वर्ष मात्र नोभाक जोकोभिचले लाइन जजलाई बलले हिर्काएपछि युएस ओपनबाट अयोग्यको निर्णय सामना गर्नुपरेको थियो। 

प्रकाशित: १८ जेष्ठ २०७८ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App