१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: बुटवल लुम्बिनीले गुमायो अवसर

दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दिनको दोस्रो खेलमा बुटवल अग्रता जोगाउन नसक्दा विराटनगर सिटी एफसीसँग २–२ को बराबरीमा रोकिएको हो। 

विराटनगरविरुद्धको जितले बुटवल शीर्ष स्थानमा उक्लिने थियो। जारी लिगमा बुटवल एक मात्र अपराजित टोली हो। पहिलो खेलमा पोखरा थन्डर्समाथि २–० को जित हात पारेको बुटवलले दोस्रो खेलमा उत्कृष्ट पुनरागमनमा एफसी चितवनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो। तीन खेलको समाप्तिमा एक जित र २ बराबरीको नतिजा पछि पाँच अंक जोडेको बुटवल दोस्रो स्थानमा छ।  

एक खेल बढी खेलेको धनगढी एफसी दुई जित, १/१ बराबरी र हारको नतिजापछि ७ अंकका साथ शीर्ष स्थानमा छ। पोखरा थन्डर्स, काठमाडौं रेजर्स, विराटनगर एफसी समान चार अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। समान दुई अंक जोडेका ललितपुर सिटी एफसी र चितवन क्रमशः छैटौं र सातौं स्थानमा छन्। खेलको पाँचौं मिनेटमा ओमोलाजा नुरेन करिमले गरेको गोलबाट बुटवलले अग्रता लिएको थियो। लक्ष्मण रुचालको कर्नरमा अर्मान्य बेडोमले गरेको हेड विराटनगरका रक्षक उल्चिर सिवेले रोक्दा प्राप्त बललाई करिमले पोस्टको दिशा दिएका थिए।  

तर, ४२औं मिनेटमा पेड्रो मान्जीले डी बक्स बाहिरबाट गरेको उत्कृष्ट गोलमा विराटनगर खेलमा फर्र्कियो। मान्जीले एडिलेजा सोमिडेको पासलाई जाली चुमाएका थिए। ६७औं मिनेटमा बुटवलले पुनः अगता लियो। विलियम ओपोकुको पासमा लक्ष्मण रुचालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, इन्जुरी समयमा सम्हालिन नसक्दा शीर्ष स्थानमा उक्लिने बुटवलको लक्ष्यले पूर्णता पाउन सकेन। इन्जुरी समयको दोस्रो मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको फ्रिकिकले जाली चुमेपछि बुटवल निराश बन्यो।  

‘हामीले दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा शीर्ष स्थानमा उक्लिने अवसर गुमायौं। पछिल्ला खेलमा पनि हामी चितवनसँग बराबरीमा रोकिएका थियौं,’बुटवलका प्रशिक्षक सनोज राईले भने, ‘हामी शीर्षताको सँघारमा थियांै। तर रेप्र्रmीले इन्जुरी समयमा अनावश्यक रूपमा विराटनगरलाई दिएको फ्रिकिकले जितबाट वञ्चित भयौं। त्यहाँ कुनै फाउल थिएन। रेफ्रीको निर्णयप्रति हामी सन्तुष्ट छैनौं। यता विराटनगरका प्रशिक्षक यान लले पनि जारी एनएसएलमा रेफ्रीको भूमिका सन्तोषजनक नरहेको बताए।

‘नेपाल सुपर लिग(एनएसएल) ले नेपाली फुटबललाई थप व्यावसायिक बनाउने लक्ष्यका साथ प्रतियोगिता भइरहेको छ,’यानले भने, ‘तर खेल संचालन गर्ने रेफ्रीहरू नै व्यावसायिक बन्न सकिरहेका छैनन। म पहिलो खेलदेखि नै रेफ्रीको भूमिकाप्रति सन्तुष्ट छैन।’ यानले उत्कृष्ट प्रदर्शनका बावजुद पनि अंक बाँडनु परेको बताए। ‘हामी सबै पक्षमा आज अब्बल रह्यौं,’यानले भने, ‘तर पनि हामीले नतिजा आफ्नो पक्षमा पार्न भने सकेनौं। खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु। विशेष गरी स्ट्राइकर पेड्रो मान्जीको प्रदर्शनबाट। हामीसँग अझै तीन खेल बाँकी छ। आशा छ, बाँकी खेलमा स्पष्ट जितका साथ शीर्ष स्थानमा रहँदै प्ले अफमा स्थान बनाउनेछौं।’  

शीर्षमा धनगढी एफसी

यसअघि शनिबार नै भएको पहिलो खेलमा एफसी चितवनमाथि ३–० को जितका साथ धनगढी एफसी प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। ६४औं मिनेटमा निशान खड्काको पासमा निशान लिम्बुले गरेको गोलबाट धनगढीले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि नै ओलाओले अफिजले धनगढीको अग्रता दोब्बर पारे। ओलाओलेले निशान लिम्बुको पासलाई जाली चुमाएका थिए। खेल सकिन १० मिनेट बाँकी हुँदा बुद्धबल तामाङले धनगढीका लागि तेस्रो गोल गरेका थिए। पहिलो हाफमा धनगढीलाई पूर्ण रूपमा दबाबमा राखेको चितवन दोस्रो हाफमा भने निराश हुन पुग्यो। पहिलो खेलमा ललितपुर सिटी एफसीसँग १–१ को बराबरी खेलेको चितवन दोस्रो खेलमा २–० को अग्रता जोगाउन नसक्दा बुटवलसँग २–२ को बराबरीमा रोकिएको थियो।

प्रकाशित: १९ वैशाख २०७८ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App