२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: क्यामरुनीको गोलमा काठमाडौंलाई सफलता

क्यामरुनका मिडफिल्डर मेसौके ओलोमोउको गोलप्रेरित काठमाडौं रेजर्सले शनिबारबाट सुरु भएको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो। ६६औं मिनेटमा ओलोमोउको प्रहारले जाली चुम्दा काठमाडौंलाई प्रतियोगितामा विजयी सुरुआत गर्न पर्याप्त बन्यो। काठमाडाैंका स्ट्राइकर स्टेफिन सामिरले गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले रोक्दा रिबाउन्डमा प्राप्त बललाई ओलोमोउले जाली चुमाएका थिए।

काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टोलीले अपनाएको रणनीति सफल भएको प्रतिक्रिया दिए। ‘पहिलो हाफमा ललितपुर बल पोसेसनमा हामीभन्दा माथि रह्यो र हामीमाथि दबाब बनायो,’ महर्जनले भने, ‘तर दोस्रो हाफमा हामीले खेल नियन्त्रणमा लियांै। काउन्टर अट्याकको रणनीतिमा सफल भयौं। हामीले पाएका अवसरको सदुपयोग गर्दा विजयी सुरुआत गर्न सक्यांै। यद्यपि टोलीमा केही तालमेलको अभाव छ। आशा छ, आगामी खेलमा टोलीले थप सुधारिएको प्रदर्शन गर्छ।’

महर्जनले नेपाली घरेलु फुटबलमा विगतदेखि नै विदेशी खेलाडीको प्रभाव रहँदै आएकाले एनएसएलमा पनि विदेशी खेलाडीको प्रदर्शनमा टोलीको नतिजा निर्भर हुने बताए। ललितपुरविरुद्ध काठमाडौंले आइभरी कोस्टका रक्षक क्वारा लार्वा फ्लोरेन्ट र क्यामरुनमा मिडफिल्डर ओलोमोउ र स्ट्राइकर स्टेफिन सामिरलाई मैदान उतारेको थियो।

३३औं मिनेटमा स्पेफिनले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिँदा काठमाडौंले अग्रता लिने अवसर गुमाएको थियो। त्यसको ७ मिनेटपछि कप्तान अञ्जन विष्टको क्रसमा क्रोएसियाका स्ट्राइकर भिलिम पोसिन्कोभिचले गरेको प्रहार बाहिरिँदा ललितपुरले पनि अग्रताको अवसर खेर फालेको थियो। ६२औं मिनेटमा ओलुमोउले काठमाडांैको अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्। इन्जुरी समयमा ललिपुरले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। अञ्जन विष्टले प्रहार गरेको बल काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले विफल पारेका थिए।

काठमाडौका संजोक राई म्यान अफ दी म्याच भए भने काठमाडाैंकै विश्वास श्रेष्ठ प्रमिसिङ प्लेअफ दि म्याच भए। राईले नगद २५ हजार प्राप्त गर्दा श्रेष्ठले नगद १० हजार प्राप्त गरे। ललितपुरका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले उत्कृष्ट प्रदर्शन गर्दै बल नियन्त्रणमा राखे पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा निराश हुन परेको बताए।

‘हामीले काठमाडाैंको तुलनामा उत्कृष्ट प्रदर्शन गर्दै बल नियन्त्रणमा राखेका थियाैं तर पाएका अवसरलाई हामीले सदुपयोग भने गर्न सकेनौं,’ हुमागाईंले भने, ‘खेल हो हारजित हुन्छ। खेलाडीहरूको प्रदर्शनमा म सन्तुष्ट छु।’ प्रतियोगितामा काठमाडांै र ललितपुरसहित बुटबल–लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, विराटनगर एफसी र धनगढी एफसी गर ७ फ्रेन्चाइज टोलीको सहभागिता छ। नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले नगद ३५ लाख हात पार्नेछ भने उपविजेताले नगद १५ लाख हात पार्नेछ। उत्कृष्ट स्ट्राइकर, रक्षक, मिडफिल्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद १ लाख हात पार्नेछन्।

प्रकाशित: १२ वैशाख २०७८ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App