१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला नेपाललाई उपाधि

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाभरि नै निडरतापूर्वक ब्याटिङ प्रस्तुत गरेको नेपालले फाइनलमा नेदरल्यान्डमाथि शनिबार यस फरम्याटमा सबैभन्दा फराकिलो जित निकाल्दै घरेलु मैदानमा ११ वर्षपछि उपाधि उचालेको छ। शृंखलामा उत्कृष्ट ब्याटिङ प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिएको नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्डमाथि १ सय ४२ रनको विशाल अन्तरको जित निकाल्दै सन् २०१० पछि पहिलोपटक घरेलु भूमिमा उपाधि उचाल्यो।  

ट्वान्टी–२० अन्तर्राष्ट्रियको पहिलोपल्ट फाइनल जितेको नेपालले सन् २०१० मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–५ को फाइनलमा अमेरिकालाई स्तब्ध बनाएपछि घरेलु भूमिमा पहिलो उपाधि सुरक्षित राख्यो। यसक्रममा डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपालले यसै फरम्याटमा आफ्ना लागि सबैभन्दा ठूलो योगफल (२ सय ३८ रन ) खडा गर्दा ट्वान्टी–२० को अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै छैटाैं ठूलो अन्तरको (१ सय ४२) जित पनि आत्मसात् गर्‍यो।  

गत १३औं सागमा भुटानविरुद्ध १ सय ४१ रनको जित निकाल्दा नेपालले २ सय ३६ रनको योगफल खडा गरेको थियो, जुन यसै त्रिकोणात्मक शृंखलामा ब्रेक भयो। यता, डच टोलीले भने सन् २०१८ मा स्कटल्यान्डसँग १ सय १५ रनले स्तब्ध भएपछि सबैभन्दा ठूलो हार सामना गर्नुपर्‍यो।  

कुशल भुर्तेलको अद्भुत ब्याटिङ पाँचौं खेलसम्म जारी रहँदा शृंखलामा चौथो अर्धशतक बनाए। साथै कुशल मल्लले पनि ट्वान्टी–२० पहिलो अर्धशतक जोडे। आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले नटआउट ४८ रन बनाउँदा नेपालले तीन विकेटको क्षतिमा २ सय ३८ रनको योगफल खडा गरेको थियो। विशाल लक्ष्य पछ्याएको डच टोलीले कुनै समय पनि खेल आफ्नो पक्षमा राख्न सकेन।

नेपाली बलरले लयमा पुनरागमन गर्दा फिल्डिङमा पनि उत्कृष्ट नमुना प्रस्तुत गर्‍यो। सुरुआतदेखि नै दबाबमा परेको नेदरल्यान्डले कुनै पनि समय चुनौती दिन सकेन र १७.२ ओभरमा ९६ रनमै समेटियो। सेबास्टियन ब्राट २६ रनमा नटआउट रहँदा डच टोलीका लागि ओपनर म्याक्स ओ डोडको २० रन नै दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो। पछिल्ला दुई खेलमा निकै महँगा साबित भएका नेपाली बलर फाइनलमा भने सुधार गर्दा विकेट पनि लिए। करण केसीले तीन ओभरमा तीन विकेट लिँदा ११ रन मात्र खर्चिए।

करणले यस शृंखलामा एक मात्र शतक बनाएका डोड र कप्तान पिटर सिलार (१३) लाई क्लिन बोल्ड गरे। शून्यमै एन्टोनियस स्टाललाई तेस्रो सिकार बनाएका करण म्यान अफ दी म्याचसमेत घोषित भए। कमलसिंह ऐरी र सन्दीप लामिछानेले थप २÷२ विकेट लिँदा अविनाश बोहोराले भिभियन किङ्मालाई बोल्ड गर्दै डच टोलीको अन्तिम विकेट निकाले। सन्दीप प्रतियोगितामा सर्वाधिक १३ विकेट लिने खेलाडी बने। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट ब्याटिङलाई फाइनलमा पनि निरन्तरता दिँदा शृंखलामा तेस्रो पटक दुई सय रनको योगफल पार गराउन सफल भयो।  

यस क्रममा कुशल भुर्तेलले ७७ रनको यादगार इनिङ खेल्दै डेब्यु शृंखलामा चौथो अर्धशतक बनाए। पाँच इनिङमा सर्वाधिक २ सय ७८ रन बटुलेका कुशल प्लेयर अफ दी सिरिज पनि भए। यसै शृंखलाबाट डेब्यु गर्दै उत्कृष्ट छाप छोडेका ओपनर आसिफ शेख १६ रनमा आउट हुँदा नेपालको खातामा ३० रन थियो। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले दोस्रो विकेटका लागि ५७ रन जोडे। दोस्रो विकेटका रूपमा आउट हुनुअघि ज्ञानेन्द्रले १९ बलमा ३३ रन जोड्दा तीन चौका र दुई छक्का हिर्काए। सुरुआतमा निकै सुस्त ब्याटिङ गरे पनि कुशलले ५३ बल खेल्दा ८ चौका र तीन छक्का हिर्काए। डच बलरले सुरुमा खुलेर ब्याटिङ गर्न रोकेका कुशलले १२ रनमा जीवनदान पाएका थिए।

बास डी लिडेको बलमा टोबियस भिसीले उनको क्याच छोडेका थिए। त्यसको सदुपयोग गर्दै कुशल भुर्तेलले कुशल मल्लसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे। तर, ब्राटले भुर्तेललाई आउट गर्दै नेपालको तेस्रो विकेट लिए पनि घरेलु टोलीको ब्याटिङ थप आक्रामक बन्यो। र, नेपालले अन्तिम चार ओभरमा ६० रन बटुलेको थियो। अन्तिममा कुशल मल्ल र दीपेन्द्रले लगातार ठूला सट खेल्दै नेपाललाई आफ्नो ट्वान्टी–२० कै ठूलो योगफलसम्म पुर्‍याए। मल्लले २४ बलमै ५० रन बटुल्दा पहिलो अर्धशतक पूरा गरे। उनको इनिङमा पाँच छक्का र दुई चौका रह्यो। दीपेन्द्रले भने १८ बलमै ४८ रन जोड्दा पाँच चौका र तीन छक्का प्रहार गरे।

प्रकाशित: १२ वैशाख २०७८ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App