१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कास्की खेलकुदमा बानियाँ

तोरण बानियाँ

जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा तोरण बानियाँ नियुक्त भएका छन् । उनी पोखरा महानगरपालिका–१५ का निर्वाचित वडासदस्य हुन् । चारवर्षे कार्यकालको लागि बानियाँका अध्यक्षतामा १३ सदस्य समिति नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयले आईतबार मात्रै जिल्ला खेलकुद विकास समिति कास्कीमा नियुक्त गरेको हो ।  

समितिको उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीमप्रसाद पराजुली र कोषाध्यक्षमा कन्चन थापा नियुक्त भएका हुन् । गुरुङ युवा पर्यटन व्यवसायी हुन् भने नेपाल युवा संघका सचिव समेत हुन् । पराजुली कास्की जिल्ला भलिबल संघका अध्यक्ष हुन् । थापा सञ्चारकर्मी हुन् ।  

यसैगरी सदस्यहरुमा कुमार थिङ, नारायणबहादुर भण्डारी, राजन बडगामी, केशवबहादुर थापा, तिलक क्षत्री, रुमबहादुर गुरुङ, सांग्रिला केसी मरासिनी, नन्दकली नेपाली र मनिषा गुभाजू रहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगत्तै राजनीतिक नियुक्त भएका कार्यसमितिको पदावधि सकिएको थियो । झण्डै दुई वर्षसम्म रिक्त रहेको कार्यसमितिलाई नयाँ गण्डकी खेलकुद विधेयक बनेपछि मात्रै पदपूर्ति गरिएको हो ।  

नव नियुक्त अध्यक्ष बानियाँले खेलकुदलाई स्वास्थ्य र पर्यटनसँग जोड्ने बताए् । उनले कर्पोरेट हाउससँग सहकार्य गर्दै खेलाडीको जीवन सुरक्षामा आफनो पहलकदमी हुने जिकिर गरे । अध्यक्ष बानियाँले पोखरा रंगशाला र कास्की जिल्लामा निर्माण भएका खेलकुदका भौतिक पूर्वाधारको संरक्षण र सम्बद्र्धनमा गम्भीर हुने स्पष्ट पारे । उनका अनुसार खेलकुदको विकासको लागि गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिवसँगको सहकार्यमा १२ बुदें योजना बनाइएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजाने अठोट लिए । यद्यपी उनले आफनो १२ बुदें योजनालाई भने सार्वजनिक गरेनन् । 

प्रकाशित: ६ वैशाख २०७८ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App