१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एएफसी कप २०२१: आर्मीको लज्जास्पद हार

बेंगलुरु फुटबल क्लबसँग लज्जास्पद हार व्यहोरेसँगै त्रिभुवन आर्मी क्लबको एएफसी कप २०२१ यात्रा समाप्त भएको छ। बुधबार गोवास्थित जिएमसी स्टेडियममा भएको खेलमा आर्मीलाई बेंगलुरु फुटबल क्लबले ५–० ले हराएको हो। बेंगलुरुको जितमा राहुल भेखे र किन्टन सिल्भाले समान दुई गोल गर्दा सुनिल क्षत्रीले १ गोल गरे। 

५१औं मिनेटमा भिखेले बललाई जाली चुमाएसँगै बेंगलुरुले अग्रता लिएको थियो। त्यसको एक मिनेट नबित्दै सुनिल क्षत्रीले बेंगलुरुको अग्रता दोब्बर पारेका थिए। एक मिनेटको अन्तरमा लगातार दुई गोल खाएसँगै दबाबमा परेको आर्मीविरुद्ध बेंगलुरु थप आक्रामक बनेको थियो। ६१औं मिनेटमा सिल्भाले बेंगलुरुका लागि तेस्रो गोल गरेका थिए। ६५औं मिनेटमा भिखेले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै बेंगलुरुलाई फराकिलो जिततर्फ डोर्‍याएका थिए। 

त्यसको एक मिनेट नबित्दै सिल्भाले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै बेंगलुरुलाई ५–० को अग्रता दिलाएका थिए। सम्बन्धित देशको लिग च्याम्पियन सहभागी हुने प्रावधान भए पनि नेपालबाट भने लिग विजेता मच्छिन्द्रको स्थानमा उपविजेता आर्मीले प्रतियोगितामा सहभागिता जनाएको हो।  

आर्मी क्लब एएफसी लाइसेन्स प्राप्त गर्ने एक मात्र नेपाली फुटबल क्लब हो। यसअघि त्रिभुवन आर्मी क्लबले चैत २५ गते घरेलु मैदानमा भएको पहिलो चरणमा श्रीलंकाको ‘श्रीलंका पुलिस स्पोर्टिङ’ माथि ५–१ को जितका साथ दोस्रो चरणमा बेंगलुरु फुटबल क्लबसँगको भेट पक्का गरेको थियो। ‘श्रीलंका पुलिस स्पोर्टिङ’ ले उतारेको टोलीमा आर्मीले बुधबार बेंगलुरु फुटबल क्लबविरुद्ध २ खेलाडी परिवर्तन गरेको थियो।

कप्तान भरत खवास र टंक बस्नेत पहिलो रोजाइमा परेनन्। भरत र टंकको स्थानमा रक्षक सुमन अर्याल र विमल पाण्डेले पहिलो रोजाइमा स्थान पाएका थिए। कोरोना संक्रमित भएसँगै गोलकिपर विकेश कुथु र स्ट्राइकर जर्ज प्रिन्स कार्की भारत भ्रमणमा सहभागी भएनन्। 

आर्मीलाई पराजित गरेसँगै बेंगलुरु फुटबल क्लबले २१ अप्रिलमा प्लेअफको फाइनलमा स्थान पक्का गरेको छ। सो प्लेअफको विजेताले समूह चरणअन्तर्गतको खेलका लागि समूह ‘डी’ मा प्रवेश पाउनेछ। समूह ‘डी’ मा भारतको मोहन बगान, बंगलादेशको वसुन्धारा किङ्स र माल्दिभ्सको माजिया एन्ड रिक्रिएसन छन्। समूह चरणका खेल मे १४ बाट सुरु हुनेछन्।

प्रकाशित: २ वैशाख २०७८ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App