६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

खेलकुदमा कोरोना कहरः नौमहिना ठप्प, तीनमहिना यता नियमित

खेलकुदको शहर पोखरा कोरोना कहरबाट अछुतो रहन सकेन् । कोरोनाको पहिलो चरणको त्रासले विस्तारै मुक्त हुने अपेक्षा गरिरहँदा दोस्रो लहरको संकेत देखिन थालेको छ । विश्वव्यापी फैलिएको भाइरसले सबै क्षेत्रलाई नकारात्मक प्रभाव बनाउँदा खेलकुद क्षेत्र पनि उस्तै गरी प्रभावित हुन पुग्यो । खेलकुदको जग नै विद्यालय हो । तर विद्यालयस्तरीय प्रतियोगिताहरु आयोजनै भएनन् । विद्यालय ठप्प रहे । त्यसको प्रत्यक्ष असर खेलकुदमा रह्यो ।  

झण्डै नौ महिना पोखरामा खेलकुदका कुनैपनि गतिविधि नै भएनन् । भएका गतिविधिले खेलाडी एक्स्पोज हुने मौका पाएनन् । गतवर्षको चैत ११ गतेदेखि लकडाउन शुरु भएपछि मंसिरसम्म खेलकुदका सबै गतिविधि ठप्पै हुन पुग्यो । त्यसो त पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहललाई होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिएपछि झनै त्रास बढाईदियो । लामो समयसम्म खेलाडी प्रशिक्षणविहीन अवस्थामा गुज्रिनु परेको थियो । त्रासकै कारण खेलाडी पोखरा रंगशाला छिर्नलाई समेत आनाकानी गर्दै आएका थिए ।  

मंसिर २३ गतेदेखि पोखरा रंगशालामा खेलकुद गतिविधि शुरु हुन पुग्यो । प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको तयारीको लागि कास्की जिल्ला क्रिकेट संघले छनोट प्रतियोगिता प्रारम्भ गर्यो । जुन पोखराको लागि संकटकालिन अवस्थामा पहिलो घरेलु प्रतियोगिता हुन पुग्यो । ‘कोरोनाकै कारण खेलकुद ‘एक्टिभ’ रुपमा चल्न सकेन् । तर पोखराको हकमा सन्तोषजनक नै रह्यो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘खेलाडीले एक्पोज हुने अवसर भने पाएनन् ।’ उनका अनुसार राष्ट्रिय प्रतियोगिताहरु नहुँदा त्यसको प्रत्यक्ष असर भने जिल्ला तहका खेलाडीमा पर्यो ।  

संघको लक्ष्य विद्यालयस्तरीय प्रतियोगिता आयोजना थियो । तर कोरोनाकै कारण विद्यालय पूर्णरुपमा बन्द रहे । विद्यालय बन्द भएकै कारण प्रतियोगिता आयोजना गर्न सकिएन् । जिल्ला संघले गर्नुपर्ने कामहरु भने भए । केही निजी क्षेत्रले पनि क्रिकेटका गतिविधि गरेर खेलाडी प्रवद्र्धन गर्ने अभियानमा जुटे । क्रिकेट मात्रै क्लबस्तरीय लिग, केएन स्पोर्टसको टी–२०, यु–१९ दुईदिवसीय क्रिकेट सिरिज, प्रधानमन् त्री कपको लागि महिला छनोट प्रतियोगिता, पोखरा विश्वविद्यालयको आयोजनामा फ्रेन्चाईज क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ ।  

पछिल्लो तीन महिनालाई मात्रै नियाल्ने हो भने पोखरामा खेलकुदका गतिविधि अन्य जिल्लाको तुलनामा अझ बढी नै देखिएको छ । कोरोनाको त्रास एकातिर रहेपनि पोखरामा भलिबलको क्रेज भने उत्तिकै रह्यो । टाईगर ग्रुपले महिला तथा पुरुष क्लबस्तरीय क्लबस्तरीय च्याम्पियनसिप गर्यो । त्यसले दर्शकलाई लामो समयसम्म खेलकुदको गतिविधि हेर्न नपाउँदाको बास्तविकता झल्काईदिएको थियो । दर्शकको क्रेजले क्लब च्याम्पियनसिप सकिए लगत्तै कास्की जिल्ला भलिबल संघले प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरियो । भलिबल संघले नै आफनो दोस्रो कार्यक्रम अन्तर्गत सृजना विद्यालयस्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता गर्दै वर्षदिनको क्यालेण्डरलाई समाप्त गर्यो । ‘भलिबललाई कोरोनाको प्रभाव पर्यो । तर पछिल्लो समयको गतिविधिले नकारात्मकै असर भने परेन्,’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।  

भलिबल प्रतियोगिता कास्कीकै विभिन्न गाँउमा आयोजना गरिएका छन् । खेलाडीहरु शहरदेखि गाँउसम्म पुगेर आफनो उपस्थिति देखाए । कोरोना कहरलाई समेत जितेर खेलाडीलाई उर्जा दिन दर्शकको उपस्थिति पनि दरिलो थियो । फुटबलकै हकमा पनि ठूलो गतिविधिको रुपमा आहा रारा गोल्डकप मात्रै आयोजना हुन पुग्यो । अघिल्लो वर्ष चैतमा फाईनल टुग्याएको सहारा क्लबले यो वर्ष पनि चैतकै अन्तिम समयमा त्रासकै बीचमा प्रतियोगिता समापन गर्यो । दर्शकलाई समेत सचेतता अपनाउन लगाइयो ।  

नेपाल भुतपुर्व खेलाडी मन्चले आफनो नियमित प्रतियोगिताको रुपमा पोखरा म्याराथन आयोजना गर्यो । फागुन १ गते शनिबारको दिनमा म्याराथन आयोजना गर्यो । तर यो वर्ष मञ्चले म्याराथनलाई मात्रै आयोजना गरेर टुग्याएको थियो । १० किलोमिटर, ५ किलोमिट छात्र÷छात्रा, ह्वीलचियर, दृष्टिविहीन दौडलाई म्याराथनकै समयमा समावेश गरेर आयोजना भने गरेन् । भीडभाडलाई ध्यानमा राख्दै ती प्रतियोगितालाई फागुन र चैतमा आयोजना गरेको थियो ।

‘कोरोनाको प्रभाव खेलकुदमा पक्कै पनि पर्यो । तर तीन महिना यता भएका खेलकुद गतिविधिले खेलकुदमा परेको प्रभावलाई कम गरेको अनुभूति गरायो ।’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘कोरोनाकै कारण केही तय गरिएका गतिविधिलाई कार्यान्वयनमा लैजान सकिएन् ।’ उनका अनुसार विदेशमा बढ्दै गएको कोरोना कहरकै कारण अन्तर्राष्ट्रिय मुआथाई सम्मेलन तथा च्याम्पियनसिपलाई स्थगित गरिएको छ । कोरोनाकै कारण केही संघहरु भने प्रतियोगिता सञ्चालन गर्न असमर्थ रहे ।  

प्रकाशित: ३१ चैत्र २०७७ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App