१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्य खेलमा पनि फ्रेन्चाइज योजना

क्रिकेट खेलसँगै सुरु भएको फ्रेन्चाइज लिग पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) का रूपमा नेपाली फुटबलमा प्रयोग हुँदै छ। धनगढी प्रिमियर लिग (डिपिएल) बाट औपचारिक रूपमा नेपाली खेलकुदमा फ्रेन्चाइज लिग सुरु भएको थियो। सहभागी विभिन्न स्थानीय सहरको प्रतिनिधित्व गर्ने टोलीले अक्सनमार्फत खेलाडी भित्र्याउँथे। डिपिएलसँगै एभरेस्ट प्रिमियर लिग (इपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) जस्ता फ्रेन्चाइज लिगमा लगानीकर्तासँगै खेलाडी र समर्थकको विशेष चासो रहँदै आएको छ।

नेपाली खेलकुदमा व्यावसायिकता भित्र्याउने फुटबल नै भए पनि लामो समयदेखि परम्परागत शैलीमै लिग सञ्चालन हुँदै आएको छ। दक्षिण एसियाली पावरहाउसको रूपमा रहेको भारतले इन्डियन सुपर लिग (आइएसएल) सँगै फ्रेन्चाइज लिगको सुरुआत गरेको सात सिजन बितिसक्दा पनि नेपाली फुटबलले भने त्यसको सिको गर्न सकिरहेको थिएन। 

यद्यपि नेपालमा फ्रेन्चाइज फुटबल लिगको चर्चा भने विगत दुई वर्षदेखि हुँदै आइरहेको थियो। तर नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ ९एन्फा० को पहलले यस योजनामा सार्थकता पाउन सकिरहेको थिएन। गत वर्ष नै नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले एनएसएल आयोजनाको घोषणा गरे पनि प्राविधिक कारण देखाउँदै प्रतियोगिताको प्रक्रिया अघि बढ्न सकिरहेको थिएन। कोभिड १९ को महामारीको असर कम हुँदै गएसँगै नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले पुनः एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिताको प्रक्रिया थालेको छ। यसका लागि प्रतियोगिता मिति तय गरेसँगै विभिन्न सात फ्रेन्चाइज टोलीको समेत घोषणा गरेको थियो।

वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो पटक फ्रेन्चाइज टोलीको प्रतिस्पर्धा आम दर्शकले हेर्न पाउँदै छन्। यसका लागि सहभागी ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, बुटबल–लुम्बिनी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, काठमाडौं रेजर्स फुटबल क्लब र धनगढी फुटबल क्लब गरी विभिन्न सात सहरको प्रतिनिधित्व गर्ने सात टोलीले नेपाली फुटबलमा पहिलो पटक अक्सनमार्फत खेलाडी भित्र्याइसकेका छन्। तर नेपालमा क्रिकेटबाट सुरु भएको फ्रेन्चाइज लिगको अवधारणा फुटबलमा यस पटक परीक्षणको चरणमा छ।

एनएसएलकी निर्देशक आश्रयता कार्की एनएसएलसँगै नेपाली फुटबलमा व्यावसायिकता भित्रनेमा विश्वस्त छिन्। साथै उनी एनएसएलले नेपालमा स्पोर्ट्स कल्चरको विकास समेत गर्ने बताउँछिन्।‘नेपाली क्रिकेटमा उल्लेख्य मात्रामा फ्रेन्चाइज भित्रिए पनि नेपाली फुटबल भने व्यावसायिक बन्न सकिरहेको छैन। युवाको व्यक्तित्व विकासका लागि खेलकुद उत्तम माध्यम हो,’ कार्कीले भनिन्, ‘तर नेपालमा धेरै क्षमता भएका खेलाडी भए पनि अवसरको कमीसँगै उनीहरू खेलकुदमा आउनै चाहँदैनन्। सबैको साझा धारणा छ, नेपालमा खेलकुदमा भविष्य नै छैन। हामी त्यो धारणा परिवर्तन होस् भन्ने चाहन्छाैं। हामी एनएसएलसँगै नेपाली फुटबलमा व्यावसायिकता भित्र्याउने प्रयासमा छौं।’

‘हामीले वाईवाईमार्फत विद्यालयस्तरीय फुटबलको सुरुआत गरेका थियाैं। विगतमा पनि हामी लगातार रूपमा नेपाली क्रिकेटको प्रायोजकका रूपमा रहेका थियौं,’ कार्कीले भनिन्, ‘यस पटक भने हामीले मेगा इभेन्टमार्फत नेपाली खेलकुदकै ध्यान खिच्न खोजेका हौं।’ कार्कीले प्रतियोगिता आयोजनाका लागि अरू खासै चुनौती नभए पनि पुनः कोरोना भाइरस संक्रमण बढेसँगै चुनौती थपिएको बताइन्। ‘हाम्रा लागि अहिले प्रमुख चुनौती भनेकै कोरोना भाइरस संक्रमणको दर बढिरहँदा कसरी निर्धारित समयमै सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्ने भन्ने नै हो,’ कार्कीले भनिन्, ‘हामीले प्रतियोगिताका लागि दुई वर्षअघि नै सम्झौता गरिसकेका थियौं। हामी एन्फा र सहभागी क्लबबाट पाएका सकारात्मक प्रतिक्रियाले उत्साही छांै।’

‘हाम्रो यो पहिलो सिजन हो र हामी प्रतियोगिता समापन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा छाैं,’ कार्कीले भनिन्, ‘पहिलो सिजन सिंगल राउन्ड रोबिन पद्धतिमा हुँदै छ र हामीले यस पटक सात क्लब मात्र सहभागी गराएका छाैं। अर्को सिजन हामी प्रतियोगिता थप बृहत् पार्दै लानेछाैं। हामी अर्को सिजन सहभागी क्लबको संख्यासमेत बढाउनेछाैं। कार्कीले आफूहरू फुटबल खेलमा मात्र केन्द्रित नहुने बताइन्। ‘यो हाम्रा लागि पनि परीक्षण हो,’ कार्कीले भनिन्, ‘हामी निकट भविष्यमै क्रिकेट, भलिबल, बास्केटबल र र्‍याकेट स्पोर्ट्सको फ्रेन्चाइज लिगसमेत सुरु गर्ने योजनामा छाैं। हामी महिला फुटबलमा समेत फ्रेन्चाइज लिग भित्र्याउँदै छाैं।’

प्रकाशित: ३० चैत्र २०७७ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App