१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फ्लडलाइटमा विराट गोल्डकप

नेपालको ऐतिहासिक एवम् चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। विराटनगरको सहिद रंगशालामा चैत २६ देखि गोल्डकपको छैटौं संस्करण काठमाडौंबाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी खेलाइनेछ।  विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो।

०५९ सालबाट राजनीतिक समस्या र ०६२र६३ जनआन्दोलनपछि श्री ५ महेन्द्रको नामबाट गर्ने नगर्नेबीच विवाद हुँदा स्थगित भएको थियो। तर, ०६७ मा ट्रस्टको साधारणसभाले नाम परिवर्तन गरी विराट गोल्डकप नामकरण गर्दै पुनः प्रतियोगिता थालेको थियो। पछिल्लो समय विराटनगरवासीको मात्र नभएर प्रदेशकै प्रतिष्ठासँग जोडिएको यस गोल्डकप कोरोना कहरले गत वर्ष आयोजना गर्न सकिएको थिएन। विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँले प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको बताए।

‘हामीले काठमाडौंबाहिर स्थायी संरचनामा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष बानियाँले भने, ‘मोफसलमै पहिलो पटक नमुना प्रतियोगिता गर्न लागेकाले सबै पक्षबाट सहयोग हुने आशा गरेका छौं। त्यसका लागि मनोजविक्रम शाहको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति बनाएका छौं।’ ‘गोल्डकप भव्य र सभ्य मात्रै होइन एउटा नमुनाका रूप बन्नेछ,’ प्रतियोगिता आयोजक समितिका संयोजक मनोजविक्रम शाहले भने, ‘मोफसलको दोस्रो सर्वाधिक राशि रहेको प्रतियोगितामा खेलाडीको सेवासुविधालाई विशेष ध्यान दिएका छौं। प्रतियोगिता राति हुने भएकाले दर्शकलगायतको सुरक्षामा विशेष ध्यान दिन जरुरी रहेको छ। त्यसका लागि हामीले सुरक्षा संयन्त्रसँग समन्वय गरी सुरक्षाको सम्पूर्ण तयारी थालेका छौं।’  

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रूपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख ५१ हजार रूपैयाँ पाउनेछ। मोफसलमा खप्तड गोल्डकपमा नगद २१ लाख रूपैयाँ पुरस्कारपछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो। प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।  

चैत २६ देखि वैशाख ५ गतेसम्म हुने प्रतियोगितामा १० क्लबको सहभागिता रहनेछ। जसमा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) का साथै विराटनगर ११, मनाङ मस्र्याङ्दी, मच्छिन्द्र क्लब, गोर्खा ब्वाइज रूपन्देही, संकटा क्लब छन् भने भारतको झारखण्ड र पन्जाब पुलिस तथा अफ्रिकन टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७७ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App