coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विराट गोल्डकपः पहिलो पटक स्थायी फ्लडलाइट

नेपालको ऐतिहासिक एवम् चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। विराटनगरको सहिद रंगशालामा चैत २६ गतेदेखि गोल्डकपको छैटौं संस्करण नयाँ प्रविधि अथात् काठमाडौं बाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी रात्रीकालीन खेल हुनेछ। अब मोफसलमै पहिलो पटक स्थायी लाइटमा रात्रीकालीन फुटबल प्रतियोगिता हुन लागेको हो। काठमाडौंमा ८ औं साफ फुटबलको फाइनल खेल डे नाइट भएको थियो।  

विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो। ०५९ सालबाट राजनैतिक समस्या र ०६२/६३ जनआन्दोलनपछि श्री ५ महेन्द्रको नामबाट गर्ने नगर्नेबीच विवाद हुँदा स्थागित भएको थियो। तर, ०६७ मा ट्रष्टको साधारणसभाले नाम परिवर्तन गरी विराट गोल्डकप नामाकरण गर्दै पुनः प्रतियोगिता थालेको थियो। पछिल्लो समय विराटनगरबासीको मात्र नभएर प्रदेशकै प्रतिष्ठासँग जोडिएको यस गोल्डकप गत वर्ष आयोजना गर्न सकिएको थिएन।  

गत वर्ष मैदानमा स्थायी लाइटको संरचना तयार पार्ने काम भइरहेको र त्यसै समयमा कोरोना भाइरसको संक्रमण फैलिएका कारण सम्पूर्ण काम थप्प भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण खेलकुदलागयत विश्व नै लकडाउनको अवस्थामा रहेको थियो।  

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको बताए। ‘हामीले काठमाडौं बाहिर स्थायी संरचनामा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष बानियाँले भने, ‘मोफसलमै पहिलो पटक नमुना प्रतियोगिता गर्न लागेले सबै पक्षबाट सहयोग हुने आशा गरेका छौं। त्यसका लागि मनोजविक्रम शाहको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति बनाएका छौं।’  

‘गोल्डकप भव्य र सभ्य मात्रै होइन एउटा नमुनाका रूप बन्ने छ,’ प्रतियोगिता आयोजक समितिका संयोजक मनोजविक्रम शाहले भने, ‘मोफसलको दोस्रो सर्वाधिक राशि रहेको प्रतियोगितामा खेलाडीको सेवा सुविधालाई विशेष ध्यान दिएका छौं। प्रतियोगिता राति हुने भएकाले दर्शकलगायतको सुरक्षामा विशेष ध्यान दिन जरुरी रहेको छ। त्यसका लागि हामीले सुरक्षा संयन्त्रसँग समन्वय गरी सुरक्षाको सम्पूर्ण तयारी थालेका छौं।’  

मैदानमा सुरक्षा व्यवस्था कडाइ हुन्छ नै यहाँ आउने दर्शकले पूर्णरूपमा सुरक्षाको प्रत्याभूति हुने गरी सडकमा पनि त्यत्तिकै संख्यामा सुरक्षाकर्मी रहने छन्। प्रतियोगिताका लागि मैदान तयारीको अन्तिम चरणमा रहेको छ अन्य प्राविधिक काम तीव्रताका साथ भइरहेको शाहले बताए।  

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउने छन्। मोफसलमा सर्वाधिक राशि खप्तड गोल्डकपमा नगद २१ लाख रुपैयाँ पुरस्कारपछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो। प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।  

चैत २६ देखि वैशाख ५ गतेसम्म हुने प्रतियोगितामा १० क्लबको सहभागिता रहने छ। जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको झारखण्ड र पंजाब पुलिस तथा अफ्रिकन टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७७ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App