१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिदेशीय कपमा उत्कृष्ट नतिजाको आशा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट सुरु हुने त्रिदेशीय फुटबल प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन्। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तानको यु–२३ टोलीबीच खेल हुनेछ। 

नेपालले भने बिहीबार पहिलो खेलमा बंगलादेशको सामना गर्नेछ भने दोस्रो खेलमा शनिबार किर्गिस्तानको सामना गर्नेछ। तीन राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल १६ गते हुनेछ। महर्जनले आफूहरू विगत तीन महिनादेखि निरन्तर अभ्यासमा रहेकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए।

‘हामी विगत तीन महिनादेखि कतार विश्वकप २०२२ को छनोट खेलको तयारीमा छौं, छनोट प्रतियोगिता जुनका लागि सरेको छ,’ महर्जनले भने, ‘त्यसैले यो टोलीका लागि तयारी कस्तो छ भनेर हेर्दै कमीकमजोरी सच्याउने अवसर बन्न सक्छ। टोलीमा युवा तथा अनुभवी खेलाडीको बाहुल्य छ, त्यसैले उत्कृष्ट नतिजा ल्याउनेमा हामी आशावादी छाैं।’  

महर्जनले नोभेम्बरमा बंगलादेशमा दुई मैत्रीपूर्ण खेलमा सोचेअनुरूप प्रदर्शन गर्न नसके पनि घरेलु मैदानमा भने नेपाली समर्थकलाई निराश नबनाउने बताए। ‘नोभेम्बरमा बंगलादेश भ्रमण जाँदा टोलीले एक साताको मात्र तयारीको समय पाएको थियो, त्यसैले टोलीले स्वाभाविक प्रदर्शन गर्न सकेको थिएन,’ महर्जनले थपे, ‘तर यस पटक अभ्यास राम्रो भएको छ। उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छाैं। उत्कृष्ट प्रदर्शनपछि नतिजा पनि उत्कृष्ट आउनेछ।’ 

नेपाली टोलीको उपकप्तान रोहित चन्दले लामो समयपछि मैदान फर्कन पाउँदा टोली निकै उत्साही भएको बताए। नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्नेछन्। ‘विश्वकप छनोटका लागि तयारीमा रहँदा धेरै पटक प्रतियोगिताको मिति सरेपछि खेलाडीको मनोबल केही घटेको थियो,’ चन्दले भने, ‘लामो समयपछि राष्ट्रिय टोलीले दशरथ रंगशालामा खेल्दै छ। घरेलु समर्थकका माझ खेल्न पाउदा धेरै उत्साही छौं।’

यता बंगलादेशका प्रशिक्षक जेम्स डेले टोलीमा नयाँ खेलाडी थपिएको र यस प्रतियोगितामा धेरैभन्दा धेरै नयाँ खेलाडीलाई प्रयोग गरिने बताए। ‘टोलीमा यस पटक ६ जना नयाँ अनुहार छन्, हामी विश्वकप छनोटको तयारीमा छाैं। त्यसैले नयाँ खेलाडीलाई मैदान उतार्दै उनीहरूको क्षमता कस्तो छ भन्नका लागि यो एउटा राम्रो अवसर हो,’ डेले भने, ‘यस प्रतियोगिता आयोजना गरेको अखिल नेपाल फुटबल संघलाई धन्यवाद दिन चाहन्छु। हामी स्वाभाविक प्रदर्शन गर्नेछाैं। हामी नेपाली फुटबलका बारेमा जानकार भए पनि किर्गिस्तानको युवा टोलीसँग भने सचेत छौं।’

त्यस्तै किर्गिस्तानका प्रशिक्षक होल्डोसोब नुरबेकले त्रिदेशीय कप आफ्ना युवा खेलाडीका लागि अनुभव बटुल्ने राम्रो अवसर भएको बताए। ‘प्रतियोगितामा आयोजक नेपाल र बंगलादेशको राष्ट्रिय टोली सहभागी छन्,’ हामीले भने ‘यु–२३ (ओलम्पिक टोली) लाई मैदान उतार्दै छाैं,’ नुरबेकले भने, ‘युवा खेलाडीलाई अनुभव बटुल्दै आफ्नो क्षमता प्रमाणित गर्ने राम्रो अवसर बन्न सक्छ। युवा टोलीमा सिनियर टोलीका दुई खेलाडी पनि सहभागी छन्। उनीहरूको उपस्थितिमा टोलीले थप उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छाैं।’

प्रकाशित: १० चैत्र २०७७ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App