१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेयर कप क्रिकेट: दुवै पुलिसको रोमाञ्चक जित

मेयर कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार बाग्मती प्रदेश विभागीय टोली नेपाल पुलिससँग २ रनले स्तब्ध हुँदा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि १ विकेटको रोमाञ्चक जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा ३८ ओभरमा छोट्याइएको खेलमा पुलिसले पहिलो ब्याटिङ गर्दै दिएको ७३ रनको झीनो लक्ष्य पछ्याएको बागमती २७ ओभर २ बलमा मात्र ७० रनमा सीमित बन्न पुग्यो। पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आदिल खानले २० रनको साझेदारीका साथ बाग्मतीलाई सुखद सुरुआतको संकेत दिलाएका थिए। २० रन जोड्दा ओपनर आदिललाई गुमाएको बाग्मतीले थप १ रन जोड्दा पारस खड्कालाई समेत गुमायो।

ज्ञानेन्द्रले तेस्रो विकेटका लागि ईशान पाण्डेसँग २२ रनको साझेदारी गरी इनिङ उकास्ने प्रयास गरेका थिए। तर १६औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्रलाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरेपछि बाग्मती संकटमा परेको थियो। ४३–३ को अवस्थामा रहेको बाग्मतीले थप २७ रन जोड्दा बाँकी ७ विकेट गुमाएपछि पुलिसले रोमाञ्चक जित निकालेको हो। बाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए।  

बाग्मतीमाथि रोमाञ्चक जित हात पार्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ तथा सागर ढकालले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ७२ रनमा सीमित भएको थियो। प्रतियोगिताअन्तर्गत शनिबारै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न खेलमा एपिएफले आर्मीलाई १ विकेटले हराएको हो।

आर्मीले प्रस्तुत गरेको २ सय ३६ रनको लक्ष्य एपिएफले ४९.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। एपिएफका लागि सुमित महर्जनले सर्वाधिक ६० र वसन्त रेग्मीले ४९ रनको योगदान गर्दा अमर रौटेलाले ३८ रनको योगदान गरे। सुमितले ७८ बलमा ८ चौका प्रहार गर्दा वसन्तले ७९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। १६–४ को कठिन स्थितिमा रहेको एपिएफको इनिङ सुमित र शंकर रानाले पाँचाैं विकेटका लागि ५२ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए।

शंकर र भुवन कार्की पवेलिन फर्किएपछि ८७–६ को अवस्थामा रहेको एपिएफको इनिङ सुमित र वसन्तले साताैं विकेटका लागि ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै जिततर्फ डोर्‍याएका थिए। आर्मीका विक्रम शोबले ३ र करण केसीले २ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३५ रनको योगफल तयार पारेको थियो। आर्मीका लागि रोहित पौडेलले ५६ र कप्तान विनोद भण्डारीले ४२ रनको योगदान गरे। एपिएफका अविनाश बोहोराले २ तथा वसन्त र भुवनले समान २ विकेट लिएका थिए।

प्रकाशित: २३ फाल्गुन २०७७ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App