१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

आर्थिक संकलन गर्ने लक्ष्य राखेर धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सी बेच्ने भएको छ। ‘हाम्रो रंगशाला, मेरो कुर्सी’ नाम दिएर निर्माण कार्य भइरहेको रंगशालाको खर्च जुटाउने उद्देश्यले फाउन्डेसनले अभियान सुरू गरेको हो।

फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाँ सहयोग गर्नुपर्नेछ। प्यारापिटको स्टान्ड ‘ए’ र ‘बी’ मा १५/१५ हजार गरी कुल ३० हजार दर्शक क्षमता रहेको छ। आफ्नो बनाएको उक्त कुर्सीमा बसेर रंगशालामा हुने उद्घाटन खेल निशुल्क हेर्न सकिने र सबैको अपनत्व होस् भनेर अभियान थालिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए।  

‘रंगशालामा सबैको अपनत्व महसुस होस् भनेर ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अवधारणा अघि सारिएको हो,’ फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने, ‘सहयोगको वाचा गरेकाहरू पनि यस अभियानमा सामेल हुन सक्नेछन्। रंगशाला सबैको साझा सम्पत्ति हो। धुर्मुस सुन्तलीको मात्र अभियान हैन, यो सबै जनताको अभियान हो। कुर्सी किनेपछि उद्घाटन खेलमा सोही कुर्सीमा बसेर निशुल्क हेन पाउनेछन्।’

फाउन्डेसनले सोमबारै हालसम्म भएको निर्माणको खर्च विवरण र आम्दामी–खर्च पनि सार्वजनिक गरेको छ। जसअनुसार रंगशाला निर्माणमा ११ करोडमाथिको घाटा देखिएको छ। फाउन्डेसनले तयार पारेको डिपिआरअनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको छ। तर, २०७७ सम्ममा जम्मा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रूपैंया ८० पैसा मात्र संकलन भएको छ। अहिलेसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रूपैयाँ २३ पैसा खर्च भएको छ।  

कार्यक्रममा उपस्थित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रंगशाला सबैको साझा सम्पत्ति भएको भन्दै निर्माण सम्पन्न गर्न सहयोगका लागि सबैसमक्ष अपिल गरेका छन्। उनीहरूले सहयोग गर्न सरकारलाई पनि आग्रह गरेका छन्।  

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा निर्माण भइरहेको रंगशाला निर्माणमा हालसम्म मैदानको ५ प्रतिशत काम र प्याराफिटतर्फ ३० प्रतिशत काम सम्पन्न भएको फाउन्डेसनले जानकारी दियो। जनस्तरबाट उठ्ने अपेक्षा गरिएको रकम र सहयोग विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उठ्न सकेको छैन। फाउन्डेनसनले आगामी १८ महिनाभित्र रंगशाला निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App