१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आजदेखि मझुवागढी रणजितमान प्रथम च्यालेञ्ज कप

मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कपको तयारी गरिएको खेलमैदान र मञ्च। तस्बिर : नागरिक

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा आईतबारदेखि सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सुरु हुँदै छ। ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा फागुन १५ गतेसम्म सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता उद्घाटन गर्न लागिएको हो। लफ्याङमा निर्माणाधिन मझुवागढी रणजितमान राई खेलमैदानमा सञ्चालन हुने प्रतियोगीता बिहान ११ बजे प्रदेशसभा सांसद रामकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ। आयोजकका अनुसार पहिलो खेल साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाबिचमा हुने आयोजक नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए। प्रतियोगीतामा २१ टिमको प्रतिष्प्रर्धा हुने नमुना स्पोर्टस क्लबले जनाएको छ। नमुना स्पोर्टस क्लबले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो। प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागी गराउन पाइने व्यवस्था छ।  

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १ लाख १ हजार र सेमिफाइनलिस्ट दुई वटा टिमले ३१/३१ हजार नगद पुरस्कार पाउने छन्। यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगीताको उद्घाटन कार्यक्रममा मेगास्टार राजेशपायल राईको सांगीतिक प्रस्तुती रहने अध्यक्ष राईले बताए।  

वडा कार्यालयको पहलमा स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माण सुरु गरिएको हो। वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा २०७६ साल जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश भाग सम्याउने काम सम्पन्न भइसकेको छ। १२० मिटर लम्बाई र ८० मिटर चौंडाई हुने मझुवागढी रणजितमान राई खेलमैदानको डिपिआर तयार पारिसकिएको वडाध्यक्ष निर्मल राईले बताए। खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युतको व्यवस्था, बस, कार तथा मोटरबाईक पार्किङ स्थल, गेष्ट रुम, च्याञ्जिङ रुम, वेटिङ रुम सहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारा लगायतको संरचना निर्माण गर्नेगरी डिपिआर तयार पारिएको वडाध्यक्ष राईले बताए।  

आरसिसि कन्सल्ट प्रालिले दर्शक बस्ने स्टेडियम सहितको खेलमैदान २० करोड ९९ लाख ७० हजार २९३ रुपैयाँमा तयार हुने डिपिआर तयार पारेको छ।  

प्रकाशित: १० फाल्गुन २०७७ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App