३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

महिला लिग फुटबल वालिङको दोस्रो जित

चन्द्रपुर नगरपालिकाविरुद्ध बल अगाडि बढाउँदै वालिङ नगरपालिकाकी सरस्वती हमाल। तस्बिरः छविलाल/नागरिक

चन्द्रपुर नगरपालिका रौतहटमाथि ३–० को जित निकालेर वालिङ नगरपालिका स्याङ्जाले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा दोस्रो जित निकालेको छ। पहिलो चरणका खेल सकिँदासम्मको खेलमा वालिङले दोस्रो जित निकालेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जिताउन तीन गोल विदेशी खेलाडीले गरे। पहिलो पटक महिला टोलीमा विदेशी खेलाडी समावेश गरेको वालिङले ३७औं मिनेटमा टोउटा आर्नेलाको गोलबाट अग्रता लिएको थियो। सुरुआती केही मिनेट प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफ सकिन लाग्दा चन्द्रपुर पूरै दबाबमा परेको थियो। ४५औं मिनेटमा मेथो रुथले गोल गर्दै वालिङलाई पहिलो हाफमा २–० को अवस्थामा पुर्‍याएकी थिइन्।  

पहिलो हाफको नतिजाबाट उच्च मनोबल बटुलेको वालिङले दोस्रो हाफमा पनि पहिलो हाफमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो। ५४औं मिनेटमा मेथो रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङको अग्रता तेब्बर पारिन्। बाँकी समयमा रक्षात्मक देखिएपछि गोलका लागि अवसर खोजेको चन्द्रपुरले अग्रता छोट्याउन सकेन। पाएका केही राम्रा अवसर वालिङको रक्षापंक्तिले रोक्दा चन्द्रपुर निराश भएको हो। 

जारी लिगमा दोस्रो जित निकालेको वालिङले तालिकामा ६ खेलबाट ८ अंक बनाएको छ। वालिङ चौथो स्थानमा उक्लिएको छ। यता पराजित चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ। जारी प्रतियोगितामा पाँचौं हार भोगेको चन्द्रपुर लिगतालिकाको छैटौं स्थानमा छ। प्रतियोगितामा बुधबार दुई खेल हुँदा पहिलो चरणका खेल सकिनेछन्।

पहिलो चरणका अन्तिम खेलअन्तर्गत दिनको पहिलो खेल मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली त्रिभुवन आर्मी तथा दिनको दोस्रो खेल अर्को विभागीय टोली नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका मोरङबीच हुनेछ।

प्रकाशित: २१ माघ २०७७ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App