२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेट: प्रतियोगिताको उपाधि आर्मी क्लबलाई

एपिएफले १८ रन जोड्दा ५ विकेट गुमाएपछि शनिबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई सुम्पिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा आर्मीका बलरले अनुशासित बलिङलाई निरन्तरता दिँदा जितनजिक पुगेको एपिएफ ३३ रनले स्तब्ध हुँदै उपाधि सुम्पिन बाध्य भएको हो।

एपिएफले अन्तिम पाँच विकेट गुमाउँदा खातामा १८ रन मात्र जोडेको थियो। साथै एक समय जितनजिक पुगेको एपिएफविरुद्ध आर्मीका बलरले धैर्यता कायमै राख्दै आफ्नो टोलीलाई उपाधि दिलाए। पाँच विकेट बाँकी रहँदा एपिएफ अन्तिम १४ ओभरमा ५२ रन जोड्न असफल भएसँगै लगातार चौथो पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक फाइनलमा सफलता प्राप्त गर्‍यो।

 उपाधिसँगै आर्मीले नगद १० लाख प्राप्त पर्दा एपिएफले पाँच लाख रूपैयाँमा चित्त बुझायो। २ सय १२ रनको मध्यम लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमै १ सय ७८ रनमा समेटियो। आर्मीका तीन बलर विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले संयुक्त रूपमा ९ विकेट लिँदै एपिएफको पारी धराशयी बनाएका थिए।

सुशन भारीले थप एक विकेट निकाल्दै आर्मीको बलिङलाई साथ दिए। एपिएफका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रनको योगदान दिँदै आफ्नो टोलीलाई जितको बलियो आधार बनाएका थिए। आसिफले तेस्रो विकेटका लागि शंकर रानासँग ७१ रनको साझेदारी गर्दै एपिएफलाई बलियो अवस्थामा पुर्‍याए पनि त्यसपछिका ब्याट्सम्यान समालिएर खेल्न नसक्दा टोलीले नतिजा आर्मीलाई सुम्पियो।

आसिफले ७१ बलमा ८ चौका र १ छक्का प्रहार गरे। सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।  त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ११ रन जोडेको थियो। 

आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ५८ रन जोड्दा अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। ३३.४ ओभरमा आर्मीको खातामा १ सय ७ रन जोडिँदा पाँच विकेट पतन भइसकेको थियो। यद्यपि, एक छेउबाट चौहानले अनुसाशित ब्याटिङ गर्दै आर्मीको इनिङ सम्हाले। आठौं विकेटका रूपमा पवेलियन फर्किनुअघि चौहानले १ सय २ बल खेल्दै ६ चौका प्रहार गरे।  

यस्तै, राजेश पुलामीले २८ रन जोड्दा नवौं नम्बरमा ब्याटिङ गर्न आएका साहब आलमले १४ बलमा २५ रन जोड्दै आर्मीको योगफल २ सय रन पार गराएका थिए। आर्मीका लोकेश बमले १५, रोहित पौडेलले १३, विक्रम सोब र अनिल मण्डलले समान ११/११ रन बनाउँदा कप्तान विनोद भण्डारी र भीम सार्की समान ७ रनमै पवेलियन फर्किएका थिए। एपिएफका अविनाश बोहराले सर्वाधिक चार विकेट निकाल्दा किशोर महतोले दुई विकेट आफ्नो नाममा लेखाए।  

कप्तान शरद भेषावकर, भुवन कार्की र कमलसिंह ऐरीले १/१ विकेट लिए। यसअघिका तीन संस्करणमध्ये पहिलो संस्करणमा आर्मी संयुक्त रूपमा विजेता हुँदा त्यसपछिका संस्करणमा भने फाइनलमा पुगेर उपाधिविमुख भएको थियो। प्रतियोगितामा प्रदेश–२ का विवेक यादव उदीयमान खेलाडी घोषित हुँदै १५ हजार रूपैयाँ प्राप्त गर्दा बाग्मती प्रदेशका पृथु बास्कोटा उत्कृष्ट ब्याट्सम्यान चुनिए।

यस्तै एपिएफका कमलसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा एपिएफकै साहब आलम उत्कृष्ट बलर चयन भए। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५ हजार रूपैयाँ पाउँदा सर्वोत्कृष्ट कमलले नगद ५० हजार रूपैयाँ पाए।

प्रकाशित: १८ माघ २०७७ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App