८ वैशाख २०८१ शनिबार
खेल

पोखरा महानगरले खेलकुदका पूर्वाधार बनाउँदै

पोखरा–२० मा मौजामा निर्माणाधिन फुटबल मैदानसहितको खेलकुद पूर्वाधारको नक्सा । तस्बिर नागरिक

पोखरा महानगरपालिकाका दुईवटा महत्वपूर्ण खेलकुद योजना छन् । महानगरकै उचाईको फुटबल मैदान (पोखरा–२० मौजामा निर्माणाधिन फुटबल मैदान) र पोखरा–१३ मा निर्माणाधिन खेलमैदानका योजना हुन् । योजनालाई कार्यान्वयनमा लैजान महानगरपालिकाले टेण्डर आह्वान गरेर निर्माणको प्रक्रियामा अघि बढाईसकेको छ ।  

आँटीघर मौजाको फुटबल मैदानको टेण्डर प्रक्रिया गरेर मूल्यांकनको चरणमा छ । पोखरा–१३ को खेल मैदान भने अघिल्लो आर्थिक वर्षमा टेण्डर आह्वान गरेर यसै आर्थिक वर्षदेखि काम शुरु गरिएको छ । दुवैलाई महानगरपालिकाले क्रमशः ५० लाख र १ करोड रुपैयाँ छुट्टाएको थियो ।  

‘मौजाको खेलमैदान टेण्डर आह्वान गरेर मूल्यांकनको चरणमा छौं,’ पोखरा महानगरपालिकाका ईन्जिनियर लक्ष्मीप्रसाद गौतमले भने, ‘छुट्टाइएको बजेट अनुसार टेण्डर गरिएको छ ।’ उनका अनुसार बजेट अनुसार जग्गा सम्याउने, भिरालो जमिनमा रिटेनिङ पर्खाल लगाउने र माथिल्लो भागमा पर्खाल लगाई फेन्सिङ लगाउने काम गरिनेछ । महानगरपालिकाले मौजाको १७ सय मिटरको उचाईमा फुटबल मैदानसहितको पूर्वाधार बनाउन दुईवर्ष अघिदेखि योजना बनाएको थियो । दीर्घकालिन योजनाको रुपमा अघि सारेको फुटबल मैदानसहितको पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन डिपिआर) बनाईसकेको छ । योजनाको पूर्ण रुपमा कार्यान्वयन गर्न १६ करोड रुपैयाँ खर्च हुने छ ।  

आँटीघर खेल मैदानको लागि आह्वान गरिएको टेण्डरमा विभिन्न ७ कम्पनीले चासो दिएका छन् । एसआरडी कन्स्ट्रक्सन(पोखरा), एलएन कन्स्ट्रक्सन(पोखरा), चिराग कन्स्ट्रक्सन(गोरखा), विरौटा कन्स्ट्रक्सन(पोखरा), रक्षा रन्जन कन्स्ट्रक्सन(शुक्ला गण्डकी–तनहुँ), सीता बिल्डर्स(पोखरा), कालिका ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन(पोखरा) ले टेण्डर हालेको महानगरपालिका खरिद शाखा प्रमुख नविन गौतमले जानकारी दिए । उनका अनुसार कम्पनीहरुको मूल्यांकन प्रक्रियाको चरणमा रहेका छन् । मूल्यांकनपछि नै कम्पनी छनोट गरेर निर्माणको जिम्मेवारी दिने तयारी महानगरपालिकाले गरेको छ ।  

गौतमका अनुसार पोखरा–१३ को खेलमैदानको टेण्डर गत असारमा गरिएको थियो । ठेक्का सम्झौता भने भदौमा गरिएको जनाउँदै काम टुंगिने चरणमा रहेको उनले बताए । गत आर्थिक वर्षमा महानगरपालिका विजयपुर खेल मैदानको लागि समेत २५ लाख रुपैयाँ छुट्टाएको थियो । तर विजयपुर खेल मैदान स्थानीयको अवरोधले काम अघि बढाउन नसकिएको महानगरपालिकाले जनाएको छ । महानगरकै उचाईमा रहेको खेल मैदान बनाउन तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने पोखरा–२० मौजाका वडाध्यक्ष सीम गुरुङले बताए ।  

उनका अनुसार फुटबल मैदान बनाउन अघिल्लो वर्ष नै साढे ८ लाख रुपैयाँ खर्च गरिएको थियो । रकम भिरालो जमिन कटान गरी सम्याउन खर्च गरिएको थियो । फुटबल मैदान निर्माणपछि मौजामा खेलकुदका गतिविधि बढ्ने विश्वास मौजाबासीले गरेका छन् । 

प्रकाशित: १५ माघ २०७७ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App