१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वरीयता सुधार्ने वाटमोरको प्रतिबद्धता

खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रशिक्षक डेभ वाटमोरलाई सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यक्रममा नवनियुक्त प्रशिक्षक वाटमोरले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय वरीयतालाई सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपाली क्रिकेटको विकास गर्न मसँग भएका अनुभव लगाउनेछु,’एक साता नेपालमा क्वारेन्टिन बिताएपछि सार्वजनिक भएका प्रशिक्षक वाटमोरले भने, ‘युवा र अनुभवी खेलाडीको संयोजनबाट नेपालको वरीयता सुधारको प्रयास गर्नेछु।’  

भारतीय प्रशिक्षक उमेश पटवालको बहिर्गमन पछि रिक्त पदमा प्रशिक्षक वाटमोर नेपाली टोली सम्हाल्न आएका हुन्। वाटमोरले सन् २०१८ मा नेपालले पाएको एकदिवसीय मान्यतालाई जोगाउन प्रयास गर्ने समेत बताएका छन्। नेपालले आइसिसी विश्वकप लिगअन्तर्गत आगामी मार्चमा ओमानमा त्रिकोणात्मक शृखंला खेल्दै छ, जसमा नेपालले आयोजक ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

उनको लागि पहिलो चुनौती नै उक्त त्रिकोणात्मक शृंखला हुनेछ। शृखंलाका लागि नेपालसँग दुई महिना मात्र बाँकी छ। एकवर्षे सम्झौतामा रहेका वाटमोरले समग्र नेपाली क्रिकेटको कन्सल्ट्यान्टको रूपमा काम गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले विश्वास व्यक्त गरेका छन्। ‘एकदिवसीय मान्यता जोगाउन, ग्रासरुट क्रिकेट, यु–१९ र महिला टोलीको कन्सल्टेन्टका रूपमा पनि सहयोग गर्ने विषयमा प्रशिक्षकसँग छलफल भएको छ,’ सचिव प्याकुरेलले भने, ‘आवश्यक विशेषज्ञदेखि अन्य स्रोत उपलब्ध गराउन क्यान तयार छ।’

वाटमोरले बिहीबार नै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानसमेत भ्रमण गरेका थिए। उनले टेस्ट राष्ट्र पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बाब्वेलगायतको टोलीसमेत समालेका थिए। सन् १९९६ मा श्रीलंकाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोर टोलीका मुख्य प्रशिक्षक थिए। सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा जिम्बाब्वेले कमजोर प्रदर्शन गरेपछि उनी बर्खास्त पनि भए। उनलाई क्यानले गत जनवरी १ देखि लागु हुने गरी नियुक्त गरेको हो। 

उनीसँग अस्ट्रेलियाका लागि सात टेस्ट र एक मात्र एकदिवसीय क्रिकेट खेलेको अनुभव छ। कोभिड–१९ महामारीका कारण नेपालले घरेलु मैदानमा सन् २०२० मा लिग–२ को एउटा मात्र शृखंला खेलेको छ। नेपालले सन् २०२१ मा लिग–२ कै दुई शृंखला खेल्नेछ।

प्रकाशित: ९ माघ २०७७ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App